सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

नेपालमा पहिलो पटक नेपाली चिकित्सककै टिमद्वारा कलेजो प्रत्यारोपण

प्रकाशित समय: बिहिवार, १० : २३ बजे माघ १८ गते



नेपालमा पहिलो पटक नेपाली चिकित्सककै टिमद्वारा कलेजो प्रत्यारोपण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा नेपालमै पहिलोपटक नेपाली चिकित्सककै अगुवाईमा कलेजो प्रत्यारोपण गरिएको छ। कलेजो प्रत्यारोपण सर्जन डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वमा त्रिविका चिकित्सकहरुले पहिलोपटक नेपाली डाक्टरले कलेजो प्रत्यारोपण गरेका हुन्।

डाक्टर भण्डारी नेतृत्वको नेपाली चिकित्सकहरुको टिमले गत पुस २७ मा नुवाकोटका ४१ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरेको थियो। ती पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन्। यसअघि नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरुले सघाउँदैं आएका थिए। तर, नेपाली चिकित्सककै अगुवाईमा नेपाली चिकित्सक टिमले विदेशी चिकित्सकको सहयोगबिना गरेको यो पहिलो कलेजो प्रत्यारोपण हो।

डाक्टर भण्डारीले आफू यो ऐतिहासिक अवसरमा प्रमुख प्रत्यारोपण सर्जनको भूमिका निभाउन पाएको गौरवको अनुभूति भएको उल्लेख गरेका छन्। कलेजो दान गरेकी ४० वर्षीय महिला १० दिनमा डिस्चार्ज भएकी थिइन्। कलेजो प्रत्यारोपण गरिएका बिरामीलाई भने २० दिनमा बिहीबार डिस्चार्ज गरिने डाक्टर भण्डारीले जानकारी दिए। सबै पूर्वाधार तयार भएपछि १७ जेठ २०७६ मा त्रिविले पहिलो कलेजो प्रत्यारोपण गरेको थियो। यसअघि त्रिवि शिक्षण अस्पतालमा १० वटा सफल कलेजो प्रत्यारोपण भइसकेका छन्।