सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

कांग्रेस, एमाले र माओवादीको आम्दानी घट्यो खर्च बढ्यो, रास्वपाको खातामा एक करोड ४१ लाख बचत

प्रकाशित समय: सोमवार, १० : ५१ बजे माघ २२ गते



कांग्रेस, एमाले र माओवादीको आम्दानी घट्यो खर्च बढ्यो, रास्वपाको खातामा एक करोड ४१ लाख बचत

काठमाडौं । नेपालका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केद्र)ले गत वर्ष घाटा बेहोरेका छन् । गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनअनुसार तीनवटै पार्टीहरू घाटामा चलेका हुन् । गत वर्षको अन्त्यसम्म नेपाली कांग्रेसले चार करोड ३५ लाख, एमालेले दुई करोड ६२ लाख र माओवादी केन्द्रले ३३ लाख रुपैयाँ घाटा बेहोरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा एमाले एक करोड र माओवादी केन्द्र ३२ लाख रुपैयाँ बचतमा थिए । कांग्रेस भने गत वर्ष पनि तीन करोड रुपैयाँ घाटामा थियो । हाल संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख चार दलमध्येको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने एक करोड ४१ लाख बचतमा छ । रास्वपा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को अन्त्यतिर मात्र खुलेको नयाँ पार्टी हो ।

रास्वपाका अधिकांश सदस्य तीन प्रमुख पार्टी एमाले, कांग्रेस र माओवादी केन्द्रबाट आएको देखिन्छ । किनभने अरू पार्टीको आम्दानी घट्दा रास्वपाले गत वर्षको अन्त्यसम्म नयाँ सदस्य, नवीकरण र लेबीबापत चार करोड ६२ लाख आर्जन गरेको छ ।

तर, कांग्रेस, एमाले र माओवादी केन्द्रको सदस्य शुल्क, नवीकरण शुल्क र लेबीबाट उठ्ने रकममा पनि कमी आएको छ । गत वर्षको अन्त्यसम्म तीन प्रमुख पार्टीमध्ये एमालेले सबैभन्दा बढी आम्दानी गरेको छ । एमालेले आठ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ भने ११ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष २२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको एमालेले सो वर्ष २१ करोड ६९ लाख खर्च गरेको थियो ।

गत वर्षको अन्त्यसम्म कांग्रेसले तीन करोड ६४ लाख आम्दानी गरेको छ भने सात करोड ९९ लाख खर्च गरेको छ । अघिल्लो वर्ष कांग्रेसले १४ करोड ८९ लाख आम्दानी गर्दा १७ करोड ९० लाख रुपैयाँ खर्च गरेको थियो ।

त्यसैगरी माओवादी केन्द्रले तीन करोड ४८ लाख आम्दानी गरेको छ । गत वर्षको अन्त्यसम्म माओवादी केन्द्रले तीन करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष माओवादी केन्द्रले नौ करोड एक लाख रुपैयाँ आम्दानी गरेको थियो भने आठ करोड ६९ लाख खर्च गरेको थियो ।

तर, नयाँ पार्टी रास्वपाले गन वर्षको अन्त्यसम्म ६ करोड ५० लाख आम्दानी गरेको छ भने पाँच करोड आठ लाख रुपैयाँ खर्च गरेको छ । प्रतिवेदन अनुसार गत वर्ष रास्वपाले चार लाख आम्दानी र एक लाख खर्च गरेको थियो ।

नयाँ सदस्य तथा नवीकरण शुल्क र लेबीबापत एमालेले दुई करोड ४८ लाख आर्जन गरेको छ । तर, कांग्रेसले भने सदस्य शुल्क, नवीकरण र लेबीबापत ३७ लाख मात्र आर्जन गरेको छ । चन्दा तथा सहयोगबाट यो पार्टीले दुई करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । माओवादी केन्द्रले भने नयाँ सदस्य तथा नवीकरण शुल्क र लेबीबापत तीन करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ ।