सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १८ फाल्गुन २०८० / Friday, 01 March 2024

क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य



प्रकाशित समय: सोमवार, ०२ : ०५ बजे माघ २९ गते



क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं । तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २३३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन जोड्यो ।

 

क्यानडाका लागि ओपनिङ ब्याटर नवनीत धिवालले अर्धशतक प्रहार गरे । ५० रन जोडे लगत्तै उनलाई नेपालका ललित राजवंशीले आकास चन्दबाट क्याच गराए ।

 

त्यसअघि अर्का ओपनर आरोन जोनसनलाई डेब्यू खेलाडी हेमन्त धामीले देव खनालबाट ७ रनमा क्याच गराए । निकोलास किर्टन ३ रनमा आउट हुँदा हर्ष थाकेरले २९ रन जोडे । दुवैलाई नेपालका कुशल मल्लले आउट गरेका थिए । विकेटकिपर श्रेयस मोभ्भालाई हेमन्त धामीले २५ रनमा कुशल भुर्तेलबाट क्याच गराए ।

 

४८ ओभरमा आउट भएका निखिल दत्ताले जोडेको ४५ रन क्यानडाका लागि महत्वपूर्ण सावित भयो । रनआउट हुनुअघि उनले ६२ बलमा २ चौका र १ छक्का प्रहार गरे । कप्तान शाद बीन जाफरले ३१ रन जोड्ने क्रममा १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

 

बलिङमा नेपालका हेमन्त धामीले ३ विकेट लिए । उनले ८ ओभरमा ४९ रन खर्चिए । कुशल मल्लले २ विकेट लिए भने ललित राजवंशी र आकास चन्दले १-१ विकेट लिए ।

 

यसअघि लगातार दुई खेल जित्दै नेपालले सिरिज कब्जा गरिसकेको छ ।