काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताएका छन् । उनान्तीसौँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक/सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै उहाँले परिवर्तनकारीको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताए ।
“अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ”, प्रधानमन्त्री दाहालले भने, “प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजावाद निर्माणको धारको नेतृत्वमा हामीले गरिरहेका छौँ ।” परिवर्तनलाई उल्ट्याउन खोज्नेहरु पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका उल्लेख गर्दै उनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन सबै परिवर्तनकारी एक ठाउँमा आउने बेला भएको बताए ।
विगतमा माओवादी आन्दोलनमा रहेकाहरुबीच संस्थागतरुपमा पनि एकीकरणको पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यससँगसँगै व्यक्तिगतरुपमा पनि क्रान्तिकारी ध्रुवीकृत भइरहेको बताए । जनयुद्धबाट स्थापित उपलब्धिलाई संरक्षण गर्ने दायित्व माओवादी नेता, कार्यकर्ताकै भएकाले यसमा सबै गम्भीर भएर ध्रवीकरणमा सामेल हुनुपर्नेमा पनि उनले जोड दिए।
ऐतिहासिक दिनमा पार्टीमा समाहित भएकामा धन्यवाद दिँदै अध्यक्ष दाहालले राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सम्मान गर्दै पार्टीमा उचित स्थान दिइने प्रतिबद्धता पनि व्यक्त गरे । सो क्रममा उनले पार्टी विधान र दस्तावेजहरूमा पर्यावरण संरक्षणको सवाल र यससम्बन्धी मोर्चालाई व्यवस्थित गरेर लैजाने पनि स्पष्ट गरे ।
कार्यक्रममा पार्टी स्थायी समिति सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, नेता पूर्णा सुवेदी, निर्मल आचार्य, हेमराज शर्मा, तिलकराम शर्मा, धनबहादुर मास्की, सुरेश पन्तलगायतको उपस्थिति रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ