कोरोना परिवारकै कोभिड-१९ नामक विषाणुको आतङ्क चलिरहेको छ यतिबेला नेपाल लगायत सिंगो विश्वमा। वैज्ञानिक र डाक्टरहरु औषधि निर्माणको अथक प्रयासमा जुटे तापनि सफलता भने हात लागि सकेको छैन। तथापि सम्पूर्ण मानव जाति भने आशावादी नै छ औषधि छिट्टै बन्ने कुरामा। औषधि नबन्दा पनि न्युजिल्यान्ड, चीन, जापान, कोरिया र फिजी लगायत अरु केही मुलुकहरुले स्थिति नियन्त्रणमा लिएका छन् भने संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत लगायत अरु थुप्रै मुलुकहरुमा मृतक र संक्रमितहरूको संख्या ह्वात्तै बढ्दै छ दिनानुदिन।
सिङ्गै विश्व एक भएर मानवजातिको रक्षाको निम्ति जुट्नुपर्ने बेलामा समेत अमेरिकी राष्ट्रपति ट्रम्प स्वयं अमेरिकी नागरिकको जीवनरक्षामा भन्दा पनि अनेकौं तिकडममा व्यस्त देखिन्छन्। कहिले अरु राष्ट्रलाई दोष दिनमा त कहिले आफ्नै नागरिकलाई गलत स्वास्थ्य सल्लाह दिनमा त कहिले ज्योतिषीले झैं मृत्युहुनेको संख्या को भविष्यवाणी गर्नमा। उनका अभिव्यक्तिहरूले दोस्रो विश्व युद्ध पछिको विश्व नायक राष्ट्रका प्रमुख बेचैन भएको र डराएको प्रमाणित गर्दछ। त्यसैले पनि होला विश्व सदरमुकामकै रुपमा चिनिने अत्याधुनिक सुविधासम्पन्न वाशिंटन डीसीले समेत आत्मसमर्पण गरिसकेको छ, यो भाइरसका सामु। विकास गर्दैमा प्रगति हुँदैन र द्रव्य थुपार्दै मा समृद्धि आउँदैन भन्ने गतिलो उदाहरण हो यो विश्व समुदायको निम्ति पनि।
महाभारतमा धृतराष्ट्रले राष्ट्र जोगाउन नसके झैं बनेको छ आजको अमेरिका र सिंगो विश्व राष्ट्रपति ट्रम्पका लागि। नेपालपनि अपवादमा रहेन यो विश्वव्यापी भाईरस आतंकबाट। संक्रमित र मृतक दुबैको संख्या बढ्दैछ दिनप्रतिदिन। यसैबीच विगतदेखि वर्तमानसम्म नेपाल सरकारका अनुहारहरु, स्वास्थ्य सेवा र स्वास्थ्य जनचेतनाका अवस्था छर्लङ्ग पारिदिएको छ यो भाइरस आतंकले। प्रधानमन्त्री ओली महोदय को गलत नीति, नियत र निर्णयका कारण उहाँ स्वयं र नेकपा नामक दलका निम्ति पनि सत्ता र समय फलामको चिउरा बनेको छ भने विगतमा अनेकन काण्डको नायकको रुपमा परिचित प्रतिपक्ष दल नेपाली कांग्रेस गहिरो निद्राबाट ब्युँझने अवसर खोज्दै छ।
त्यसैले पनि भनिएको होला "चिनियाँहरुले खानपानमा र नेपालीहरुले मतदानमा" सच्चिनु पर्छ भनेर। तर हामी नेपालीहरु मतदानमा मात्रै सच्चिएर पुग्दैन। हाम्रा जीवनसँग जोडिएका तमाम विषयहरुमा समेत सच्चिनुपर्ने छ, कोरोना पछीको नयाँ संसारमा प्रवेश को निम्ति पनि। अन्यथा भविष्यमा समेत अरु थुप्रै महामारी र विपत्ति हरुले दुःख दिनेछन्। महामारीको समय र भविष्यमा सरकार र भूईँमान्छेहरुले समेत गर्न सक्ने र गर्नुपर्ने स-साना पाँच कुराहरु को सेरोफेरोमा केन्द्रित छ, आजको यो लेख।
(१) शिक्षामा प्रविधिको प्रयोग:
शिक्षा भन्ने बित्तिकै झट्ट हाम्रो दिमागमा विद्यालयको तस्बिर आउँछ शहरी क्षेत्र होस् वा ग्रामीण क्षेत्र त्योपनि अझ आफ्नै बालबालिका पढ्दै गरेका। अनि संगै आफ्ना स-साना नानी बाबू हरुलाइ स्कुलड्रेस लगाइदिनु, झोलाभरि किताब बोकाउनु, टिफिन बक्समा खाजा हालेर सकेसम्म अंग्रेजी माध्यममा पढाइ हुने कथित ठूला र महँगा स्कुलमा पुर्याउनु लाई हामी अभिभावकहरु "पवित्र कर्म र महान दायित्व" ठान्दछौं, विशेषगरी सुगम क्षेत्रमा। गाउँको कुरा र त्यसमा पनि दुर्गम भूभाग अनि पिछडिएका वर्ग र समुदायको पीडा त अर्कै छ जहाँ विद्यालय त के राज्यको समेत उपस्थिति हुन सकेको छैन।
क्षेत्र भूगोल परिस्थिति अनुकूल नानी बाबुहरुलाई स्कुल पुर्याउनु र सरकारले तोकेको पाठ्यपुस्तक को कोर्स सम्बन्धित विषय शिक्षकले सकाउनु नै शिक्षा हो त? अवश्य होइन। तर पनि हामी यही कर्ममा सिमित छौं। शिक्षा भनेको पढ्नु होइन,सिक्नु हो। सिक्नलाई पढ्ने काम धेरै तरिकाहरु मध्ये एउटा तरिका मात्र हो। तल्लो कक्षाबाट पास भएर माथिल्लो कक्षामा प्रवेश गरेपछि तल्लो कक्षाको पाठ्यपुस्तकलाई हाफ मूल्यमा बेचेको र नबिकेका पुस्तकलाई च्यात्दै दालमोठ,नरिवल पोको पार्न प्रयोग गरेको वा जलाइ दिएको सम्झिदा आज पनि रमाइलो लाग्छ मलाई। तर त्यतिबेला पढेका विज्ञान र गणितका अलवा नैतिक शिक्षा, भूगोल, पूर्व व्यवसायिक शिक्षा र नागरिकशास्त्र चाहिँ धेरै जीवनोपयोगी लाग्छ। सायद तपाईलाई पनि लाग्दो हो।
तराइका परीक्षा केन्द्रहरुमा झ्यालबाट चिट सप्लाइ गर्नेको तस्बिर, काठमाडौंका सरकारी कलेजका विद्यार्थीहरु परीक्षामा चिट चोर्नमा व्यस्त दृश्य र प्राइभेट स्कूल-कलेजहरुले परीक्षा केन्द्रहरुमा सेटिङ गरेको देख्दा लाग्छ हामीलाई सिक्नु होइन पास हुनुछ। पास हुँदैगर्दा सिकाइले बाइपास गरेको चाहिँ हेक्का राख्दैनौं। यो महामारीको समयमा शहरी क्षेत्र र ग्रामीण क्षेत्रमा रहेका विद्यार्थी र अभिभावकहरुमा धेरै फरक दृश्य देखिएका छन। गाउँका बालबालिका र अभिभावक दुबै कृषि कार्यमा र आपसी सहयोगमा बढी व्यस्त छन् भने सरकार केटाकेटीहरु केहि बोझ बनेका छन् आमाबाबुका लागि। त्यसैले पनि होला सहरमा विद्यार्थीलाई भन्दा बढी अभिभावकलाई स्कुल चाहिएकोछ। हिजोसम्म मोबाइल नखेल भनेर गाली गर्ने बानी बसेका आमाबाबुहरु, छोराछोरीलाई मोबाइलमा व्यस्त बनाउन अभ्यस्त भएकाछन् आज। संकट र माहामारीको बिचपनि केही निजी विद्यालयहरुले अनलाईन क्लास सुरु गरेका छन् भने सरकारले समेत रेडियो र टेलिभिजन मार्फत दुरशिक्षा सञ्चालन गरेको छ।
अनलाइन क्लासमा शिक्षक र विद्यार्थीबीच सजिलै अन्तरक्रिया हुन्छ भने रेडियो र टेलिभिजन मार्फत हुने शिक्षण विधिमा अन्तरक्रिया हुन त्यति सजिलो छैन। यसले सिक्नका लागि विद्यालय नै जानुपर्छ भन्ने तथ्यलाई गलत सावित गरिदिएको छ। जसरी हामीलाई जबर्जस्त हात हुन सिकायो र लगायो पनि कोरोनाले त्यसैगरी प्रविधिमैत्री शिक्षा र जीवनोपयोगी सिकाइको अवधारणालाई अगाडि राखिदिएको छ, यो विपत्तिले। तसर्थ प्रविधिमैत्री शिक्षा र जीवनोपयोगी सिकाइनै आजको र भविष्यको समेत आवश्यकता हो। यसका लागि सरकारले प्रविधियुक्त पूर्वाधारसहित को पाठशाला र विश्वविद्यालयहरूको निर्माण गर्नुपर्दछ निकट भविष्यमा र त्यसैमा आम नागरिकहरुले पनि सहयोग गर्नुपर्दछ। अबको शिक्षा र सिकाइ विज्ञान र व्यवहार दुवैमा आधारित हुनुको साथै उत्पादित विद्यार्थीहरु सिर्जनशील, स्वाभाविक र समस्या समाधानमा अब्बल हुनुपर्नेछ, जसले नेपाली विश्वविद्यालयको चौरमा उभिएर सिङ्गो ब्रह्माण्डको नेतृत्व गर्न सकोस।
(२) स्वास्थ्य सेवा:
लकडाउन थोरै खुकुलो भएपनि एकान्तबासमै छौं यतिबेला हामी। यो एकान्तबास कोरोनाको उपचार किमार्थ होइन, रोकथाम मात्रै हो। एकान्तबास को चलन धेरै अगाडि देखिको रहेछ, हामीकाहाँ। तिब्बत र भोटतिर व्यापार गरेर फर्केपछि नेवार समुदायले राख्ने गरेको एकान्तबास वा हिन्दू, बौद्ध लगायत अरु समुदायमा समेत मृत्यु संस्कारमा बस्ने गरेको एकान्तबास लाई उदाहरणको रुपमा लिन सकिन्छ। स्वास्थ्य सेवा सबैभन्दा ठूलो चुनौती बनेको छ यतिबेला विश्वकै लागि।
यो विपत्तिको बेलामा अग्रभागमा खटिएर सेवा दिन सफल माहान सहिदहरु डाक्टर स्व.लि वेनलियाङ(चिन), इटालियन नर्स स्व.डेनिलाट्रेन्जि, इन्डोनेसियाली डाक्टर स्व.अब्दुल देखि नेपाली भूमिमा सक्रिय डाक्टर शेरबहादुर पुन, गोविन्द केसी लगायत विश्वका सबै स्वास्थ्यकर्मीहरुलाई नमन गर्नैपर्दछ। नेपाल लगायत विश्वका सबै मुलुकहरुको स्वास्थ क्षेत्रको अवस्था सतहमै ल्याइदिएको छ,कोरोना प्रकोपले यतिबेला। स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हुँदाहुँदै पनि निजी अस्पतालहरुले सेवा दिन बन्द गरेका छन्।यो कुनै नौलो कुरा भने पक्कै होइन किनकि निजी अस्पतालहरुका प्रवेशद्वार भुइँमान्छेहरुका लागि सदैव बन्दै थिए। स्वास्थ क्षेत्रमा व्यापक सुधारको माग राख्दै अनवरत क्रान्तिमा होमिनु भएका डाक्टर के.सी.को मागलाई निर्मम हत्या गरिदियो द्रव्य मोहमा पसेको श्रव्यहिन वर्तमान सरकारले।
स्वास्थ्य क्षेत्र र सेवालाई जनस्तर सम्मै सर्वसुलभ पुर्याउनुपर्छ, दुर्गम र ग्रामीण भेगहरुमा समेत अस्पतालहरू बनाउनुपर्छ भने उनका मागहरु जायज भएको प्रमाणित भएकोछ आज। स्वास्थ्य क्षेत्रको व्यापक विस्तार र सुधार युद्धस्तरमै गर्न लाग्नुपर्छ सरकार र नागरिक दुवै, आगामी दिनमा। प्रत्येक स्थानीय तहमा अत्याधुनिक सुविधा सम्पन्न अस्पतालहरू निर्माण गर्नुपर्दछ। प्रदेश स्तरीय सरकारी मेडिकल कलेजहरु खोल्नु पर्दछ। वडाहरुमा भएको हेल्थ पोष्ट मा डाक्टरहरुको व्यवस्था गरी प्रत्येक घरघरमा पुगी स्वास्थ्य जाँचको कार्य थालनी गर्नुपर्दछ। साथै नागरिकहरूले समेत स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रममा सहभागि हुने र अभियानकै रुपमा समुदायमा सञ्चालन गर्नुपर्दछ।
(३)कृषिलाई रोजगारी सँग जोड्ने काम:
कृषिप्रधान देश नेपाल जहाँ करिव ६५% नेपालीहरु संलग्न छन् कृषिमा,अर्थात कृषि हाम्रो जीवन पद्धति हो भन्दा फरक नपर्ला। तथापि संलग्नमध्ये ९६%ले निर्वाहमुखि र बाँकी ४% ले मात्रै व्यवसायिक खेती गर्ने गरेका रहेछन। यसले नेपालमा खाद्यान्न आयातको आयतन निकै ठूलो भएको प्रष्ट देखाउँछ। महामारी पछि दुनियाँभर खाद्यान्न संकट आउने कुरा छर्लङ्ग राखिदिएको छ हाम्रासामु विश्व स्वास्थसंगठनले। तसर्थ खाद्यान्नमा परनिर्भर रहने नेपालजस्ता मुलुकहरुलाई थप चुनौतिपूर्ण बन्नेछ अगाडीका दिनहरु। तर नेपालले भने यो चुनौतीलाई सजिलै अवसरमा रूपान्तरण गर्न सक्छ। तर कसरी? एकछिन सोचौं त! यो विश्वव्यापी कोरोना आतंकले अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका अधिकांश युवाहरुको रोजगारी गुम्नेछ र स्वदेश फर्कने छन भने आन्तरिक श्रम बजारमा रहेका धेरै युवाको समेत रोजगारी गुम्न सक्छ। हामीसँग जमिन छदैं छ र अब युवा जनशक्ति पनि हुने नै भो।
वर्षौंदेखि बाँझो रहेको यो जमिनलाई कृषि भूमीमा रुपान्तरण गरी दुवैथरी युवा जनशक्तिलाई जोड्नु पर्दछ सघं,प्रदेश र स्थानीय सरकारले। यसरी रैथाने माटोमा नै लाखौं लाई रोजगारी सृजना हुनेछ भने कृषिमा हुने आधुनिकीकरण र प्रविधिको उच्चतम प्रयोगले उत्पादनमा अधिक वृद्धि हुनेछ। परिणामतः उत्पादन को व्यवसायीकरण हुनुको साथै आयातको विपरीत निर्यात गर्न थाल्ने छौं। अनि सिंहदरबारलाई पनि थाहा हुनेछ समृद्धिको यात्रा कालोपत्र गर्न बाँकी बाटोमा ठड्याइएको पोलहरुमा चित्र टाँगेर होइन, कर्मशील हात हरु बाट शुभारम्भ हुँदोरहेछ भन्ने कुरा। तर यसका लागि कृषक, युवा, सरकार, प्रविधि र प्राविधिक संगै हुनु आवश्यक छ।
छोटो समयमै कृषि क्षेत्रमा ठूलो क्रान्ति गर्न सफल देश इजरायल बाट धेरै कुरा सिक्न सकिन्छ, जहाँ कुल भूभागको २०% मात्रै खेतियोग्य जमीन छ। उक्त क्षेत्रले सामान्यतया दिने उत्पादनभन्दा ,१६ गुणा बढी फलाउन सफल छन् इजरायली हरु आजको दिन। जहाँ कृषकहरुका बीच निरन्तर संवाद सहकार्य हुन्छ। कृषि श्रमिकलाई बिमा सहित पेन्सनको व्यवस्था छ। जमीनको चक्लाबन्दी, माटोको परिक्षण र उपचार, बालीको बीमा, भरपर्दो बजार र सिंचाइको राम्रो व्यवस्था सरकारले गरिदिएको छ। समयमै मल, बीउबिजन, औषधि, प्राविधिक, कृषि औजार र यन्त्र सरकारले उपलब्ध गराइदिन्छ।
सरकारसँगै इच्छाशक्ति भयो भने हाम्रो त्यसमा पनि यति गर्न कुनै माहाभारत हुँदैन। प्लटिङ्गका नाममा कुरुप र विषाक्त बनाएको कंक्रिटको शहरहरुमा समेत कौशी खेती र करेसाबारी अवधारणालाई तत्कालीन लागू गर्नुपर्दछ। तराई, पहाड र हिमाल को जमीन पाइन छोडेको रैथाने सागपात, फलफूल र औषधिजन्य वनस्पति हरु को संरक्षण र व्यवसायिक खेती गर्नु पर्दछ। साथै ग्रामीण क्षेत्रको प्रत्येक वडामा कृषि मेला र साप्ताहिक हाटबजार सुरु गर्नुपर्दछ बिचौलिया बाट बच्नका लागि पनि।
(४) पर्यावरण सँग पुनर्मिलन:
सबेरै उठेर अनि परसम्म दायाँबायाँ हेर्दा हिमाल, पहाड र बोटबिरुवाहरु छ्याङ्गै देखिन थालेका छन, काठमाडौंबाट हिजोआज।जहाँ एक किलोमिटरको दूरीमा रहेको घर समेत प्रष्ट देखिँदैनथ्यो करिब तीन महिना अघिसम्म। भर्खरै जन्मेको शिशुलाई बिहानै घाममा राखेर तेल घसिदिन, असम्भवनै बनिसकेको थियो। तर आज अलि सम्भव बनेको छ। घर वरिपरि सुगा, ढुकुर, भंगेरा सहित थुप्रै चराहरु देखिन थालेका छन।
अस्पतालहरुमा स्वासप्रस्वास सम्बन्धी रोगीहरूको चाप घटेको छ भने मृत्यु कुर्ने हरुको आयु अलि लम्बिएको देखिन्छ। लाग्छ कोरोनाले मानव जातिलाई पर्यावरण सङ्ग पुनर्मिलन गरिदिएको छ। कोरोना प्राकृतिक प्रकोप हो। यस्ता महामारी हरु भविष्यमा पनि आइनै रहनेछन। तसर्थ हामीले पनि यस्ता प्रकोप हरुको प्राकृतिक समाधान खोज्नुपर्दछ। पाँच वर्षअगाडि गएको भूकम्पले हामीलाई घरहरु सानासाना र बलियो बनाउन सिकायो जसरी आज हात हुन सिकाउँदै छ। हरेक विपत्ति र प्रकोपहरुले मानवजातिलाई शिक्षा दिएर जाँदो रहेछ। विपत्ति र प्रकोपहरुसँग मानवजातिले कसरी "डिल" गर्छ भन्ने कुराले बढी अर्थ राख्दो रहेछ। पर्यावरण का तत्वहरु जल, जमिन, जंगल, वायु र प्रकाश हुँदै ओजन तह सम्मलाई कुरुप,विषाक्त र ह्रास पार्नमा पक्कैपनि तपाई र म जीम्मेवार छौं, कहिँनकहिँ।
सन १९९० देखि आज सम्ममा पुतली जस्ता किराहरूको संख्यामा २५% ले कमी आएको र बोटबिरुवाहरुको संख्या त्यो भन्दा बढी नै लोप भएको विश्वव्यापी अध्ययनले देखाएको छ। यसले प्राकृतिक सन्तुलन बिग्रन गइ मानवजातिकै अस्तित्व संकटमा पर्न सक्ने स्पष्ट संकेत गरेको छ। प्रसिद्ध लेखक पाओलो कोएलेले कतै लेख्नुभएकोछ -"जब हामी केही चिजको चाहना गर्छौं तब सारा ब्रह्माण्डनै सम्मिलित हुन्छ सहयोगको निम्ति"। ब्रह्माण्ड र प्रकृति मानव जातिको सहयोगी हो। त्यसैले प्रकृतिले दिएको अनुपम उपहार हरुलाई सुरक्षित राख्नु हामी सबैको कर्तव्य हो।
फोहोर एवं ढलको उचित व्यवस्थापन, विद्युतीय उपकरण को व्यापक प्रयोग, खोलानालाको सरसफाइ, शाहाकारी भोजन, बृक्षारोपण, कीटनाशक विषादीको प्रयोगमा कटौती, कम्पोस्ट मलको प्रयोगमा वृद्धि, अर्गानिक खेतीपातीमा अग्रसरता र रासायनिक भट्टी एवं औद्योगिक क्षेत्रबाट निस्कने विषाक्त ग्याँसको फिल्टर सहित न्यूनीकरण गर्न सकेमा प्रकृति र मानव जाति बिच सदैव सन्तुलित सम्बन्ध रहिरहने छ।
(५) राजनीतिमा युवाको प्रवेश:
बदमासी काम गर्यो, झगडा गराइदियो, असभ्य भाषामा गाली गर्यो, सम्बन्ध बिगारी दियो, काम बिगारी दियो, चोर डाँका, गुन्डा, फटाहा, दुर्व्यसनी, बलत्कारी, तस्कर आदि लाई कारबाही हुन बाट जोगायो वा बिचौलिया र दलाली गर्यो भने, अब यल्ले चाहिँ राजनीति गर्छ भन्ने चलन छ, सामान्य बोलीचालीको भाषामा हाम्रो समाजमा। यसले राजनीति प्रति सर्वसाधारण जनताको आशा, भरोसा भन्दा बढी घृणा र प्रतिशत भएको प्रस्ट्याउँछ।
हुन पनि वडास्तरिय वन समिति, आमा समूह, सरकारी, क्लब, विद्यालय व्यवस्थापन समिति, महिला समुह, हेल्थपोष्ट व्यवस्थापन समिति, खानेपानी समिति,हरेक उपभोक्ता समिति देखि राजदूत नियुक्ति हुँदै संवैधानिक आयोग र न्यायाधीश सम्म राजनीतिक नियुक्ति वा दल विशेष कार्यकर्ता नियुक्त हुन्छन। त्यसपछि उनीहरुबाट हुने कार्य सम्पादन पनि दल अनुकूलनै हुने भो। अनि वडादेखि प्रधानमन्त्री सम्मैलाई भटचार मा प्रवेश सजिलो हुन्छ। दलहरुले पनि जिताउनु पर्ने लाई भन्दा जित्नसक्ने लाइ टिकट दिन्छन्, चुनावमा।
यो नै नेपाली राजनीतिको महारोग हो।त्यसैले हामीले विषाक्त वर्तमान राजनीतिमा सुधारको सुरुवात यहिँबाट र आजैदेखि गर्नुपर्नेछ। यसका निम्ति हरेक पार्टीले नीति र नियत ठिक भएका युवा हरुलाई नेतृत्वमा ल्याउने पर्छ। अपवादबाहेक हरेक क्षेत्रको ठूला परिवर्तन र क्रान्ति युवाकै नेतृत्वमा सफल भएका छन, विज्ञान-कला- संगीत -साहित्य- अध्यात्म -राजनीति देखि कोरोना परास्तको क्षेत्रमा समेत।राणा विरोधी आन्दोलन सुरु गर्दा हाम्रै बिपी कोइराला, पुष्पलालहरु युवाकै हुनुहुन्थ्यो भने बोधिवृक्ष मुनि ज्ञान प्राप्त गर्दा गौतमबुद्ध पुगनपुग ३५ वर्षको हुनुहुन्थ्यो।
तर हाम्रो राजनीतिमा शेरबहादुर, केपी ओली, माधव नेपाल, प्रचण्डले वा सेवानिवृत उमेर हुन लागेको पुस्ताले युवा पुस्तालाई तत्काल नेतृत्वमा आउन दिने संकेत भने छैन। विश्वप्रकाश शर्मा, गगन थापा, धनश्याम भुसाल, मिलन पाण्डे जस्ता युवकहरुले नेपाली राजनीतिको नेतृत्व लिन सकि पक्कैपनि समृद्धिको मिसन अगाडि बढ्ने थियो।०६२/०६३ को जनआन्दोलनपछि राजतन्त्रको विदाई गर्दै नयाँ संविधानमा समाजवाद पनि लेख्यौं। गरिब, श्रमिक, मजदुर, दलित, जनजाति लक्षित आर्थिक कार्यक्रम भनेर बुझेका थियौं, समाजवादलाई। मजदुरका, कृषकका, कुल्लीका, ज्यामीका नेता नै बेपत्ता पो भए यो विपत्तिका बेला।
तसर्थ वर्तमान समय युवकको नेतृत्वको समय हो। र अन्तमा ग्रिक पौराणिक कथा "पाण्डोराज बक्स" मा जस्तै जति नै दुःख, कष्ट, महामारी र विपत्तिले घेरे पनि सुखद भविष्यको अमर "आशाले" हामीलाई जीवितै राख्नेछ।
लेखक:-देवराज लामिछाने ललितपुर
photo:- #Nepal Talk
#कोरोना#क्रान्ति#मान्छे।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ