सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

शिक्षकले राजनीति गर्नु हुँदैन- प्रा.डा. शशांक कोइराला

प्रकाशित समय: आइतवार, ०७ : ३० बजे फाल्गुन २० गते



शिक्षकले राजनीति गर्नु हुँदैन- प्रा.डा. शशांक कोइराला

ललितपुर,नेपाली कांग्रेसका नेता प्रा.डा. शशांक कोइरालाले शिक्षकले कहिल्यै राजनीति गर्न नहुने बताएका छन्। 

नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति ललितपुरको आयोजनामा सङ्घको २३ औँ प्रतिनिधिसभा तथा सम्मान कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक वृत्तमा बाहिर एउटा कुरा हुने तर व्यवहार अर्कै हुने बताए। 

 

नेता कोइरालाले आफ्ना पिता बीपीको भनाइलाई स्मरण गर्दै 'शिक्षकले राजनीति गर्ने नभएर राम्रो शिक्षा दिनुपर्ने उल्लेख गरे।' उनले राजनीतिको उत्तारचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने उल्लेख गर्दै शिक्षक ज्योति दिने प्राणी भएकाले आफ्नो व्यावसायिकतालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

 

उनले भने, ‘मेडिकल गर्दा एभ्रिथिङ इज अण्डर योर कन्ट्रोल। हात छ, सीप छ, दिमाग छ। अप्रेशन गर्नुहुन्छ, हातमा कन्ट्रोल छ। आँखाको अप्रेशन गर्नुहुन्छ, ७० वटा जति आइक्याम्प गरेँ, लाखौँको अप्रेशन गरेँ रिजल्ट राम्रै भयो। तर, राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा। कहिल्यै पनि आफ्नो नियन्त्रणमा हुँदैन। तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ।’ उनको भनाइ थियो।

 

त्यस्तै ललितपुर क्षेत्र नम्बर १ का सांसद माननीय उदयशमशेर राणाले शिक्षकले विद्यार्थी केन्द्रित भएर पठनपाठन गराउनुपर्ने बताए। नेता राणाले संस्थागत विद्यालयले मात्र राम्रो शिक्षा दिन सक्छ भन्ने कुरालाई चिर्न सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरूले ध्यान दिनु जरुरी रहेको बताए।

 

"शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जीवनोपयोगी शिक्षा" भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सह महामन्त्री ऋषिराम घिमिरे, नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, उपसभापति सुदर्शन घिमिरे, महाङ्काल गाउँपालिका प्रमुख गणेशबहादुर केसी, ललितपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति महेश खड्का, शिक्षक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेल लगायतले आफ्नो धारणा राखेका थिए।

 

सङ्घको विधान अनुसार प्रत्येक वर्ष तहगत रूपमा प्रतिनिधि सभा गर्नुपर्ने हुन्छ। सोही अनुसार ललितपुरका छ वटा पालिका स्तरीय कार्यसमितिले एकवर्ष भित्र आफुले गरेको शैक्षिक गतिविधि तथा आउने दिनहरूमा सम्पन्न गर्नुपर्ने शिक्षक, विद्यार्थीका लागि योजना तर्जुमा र आर्थिक गतिविधि बारेका प्रतिवेदन स्थानीय प्रतिनिधिसभा पास गरी जिल्ला कार्यसमितिलाई पठाइएको ललितपुर महानगर समितिका अध्यक्ष उद्धव तिमल्सिनाले बताए।

 

कार्यक्रमका सभापति समेत रहेका जिल्ला अध्यक्ष सुरेश घिमिरेले विधान तालिका अनुसार स्थानीय कार्यसमितिकाले प्रतिनिधि सभा सम्पन्न गरेपछि जिल्लाले प्रतिनिधि सभा गरेको बताए। अध्यक्ष घिमिरेले सामुदायिक विद्यालय नसुध्रेसम्म समग्र शिक्षा क्षेत्र सुधार नहुने धारणा राखे।

कार्यक्रममा ललितपुर भित्र विभिन्न तहमा बढुवा भएका शिक्षक शिक्षिका तथा शिक्षक सेवा आयोग पास गरी ललितपुर जिल्लामा नियुक्ति लिएका शिक्षकहरुलाई सम्मान गरिएको थियो।