काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन आज हुँदैछ। नेपाली कांग्रेसका युवराज शर्मा र नेकपा माओवादी केन्द्रका नारायण दाहाल बीच राष्ट्रिय सभाकाे अध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो। दाहाललाई सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका साथै जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको पनि साथ छ। दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।
त्यसैगरी शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ तथा लोसपाका शेखरकुमार सिंह छन्। गठबन्धनमा तलमाथि नभए दाहालले बहुमत पाउने निश्चितजस्तै छ। सत्ता गठबन्धनसँग ३९ सांसद छन्। अध्यक्ष जित्न २९ मत चाहिन्छ। सुरुमा कृष्ण सिटौलालाई अध्यक्षमा उठाउने भनेको कांग्रेसले गठबन्धनको गणित उल्टिएपछि युवराज शर्मालाई अघि सारेको हो।
माओवादीले पनि सुरुमा हालकै उपाध्यक्ष उर्मिला अर्याल वा नवनिर्वाचित सदस्य झक्कु सुवेदीको नाम चर्चामा ल्याएको थियो। कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको दाबी नछाडेपछि माओवादी गठबन्धन नै तोडेर एमालेसँग मिसिन पुग्यो। एमालेसँग राष्ट्रिय सभा अध्यक्ष आफ्नो भागमा पार्ने गरी सहमति भएपछि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै भाइ नारायण दाहाललाई उम्मेदवारका रूपमा अघि सारेका हुन्।
यस्तो छ अध्यक्षको निर्वाचन प्रक्रिया
एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त भएमा दर्ता क्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थनमा वक्तव्य दिने प्रक्रिया राष्ट्रिय सभा नियमावलीमा तय गरिएको छ।
आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्दैछ।
संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीअनुसार, बैठकको सुरुमा राष्ट्रिय सभाका सदस्य आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्। अर्का सदस्य गोपीबहादुर सार्की आछामीले नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।
सभाको अध्यक्षता उपाध्यक्ष उर्मिला अर्यालले गर्ने भएकाले उनले दुवै प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछिन्। त्यसपछि दुवै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ। छलफल सकिएपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले सबै प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ।
उम्मेदवारको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने नियमावलीको व्यवस्था छ। राष्ट्रिय सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत पाउने उम्मेदवार निर्वाचित भएको घोषणा गरिन्छ। यस निर्वाचनबाट आउने अध्यक्ष नयाँ संविधानबमोजिमको राष्ट्रिय सभाको दोस्रो अध्यक्ष हुनेछन्। पहिलो अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि यही फागुन २० गते सकिएकाले यो पद रिक्त भएको हो। तिमिल्सिना एमाले सांसद थिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ