सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

बागमतीको माल्टामा ‘एक घर एक धारा’ योजना सम्पन्न

प्रकाशित समय: शनिवार, ०७ : १२ बजे चैत्र १० गते



बागमतीको माल्टामा ‘एक घर एक धारा’ योजना सम्पन्न

ललितपुर, ललितपुरका अधिकांश स्थानीय तहमा खानेपानी समस्या सावधान हुँदै गएको छ।बागमती गाउँपालिका वडा नं २ माल्टामा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ ।

ल्याटर डे , सेन्ट चारिटीज संस्थाको आर्थिक सहयोग तथा च्वाइस नेपालको व्यवस्थापनमा माल्टाका १९५ घरधुरीमा धारा जडान गरिएको हो।

छहरे खोला,पधेराे खोला,चिसापानी खानेपानी योजना कुल १ करोड ५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो। यस योजनामा ८८ लाख ३५ हजार आर्थिक सहयोग प्राप्त भएको थियो भने ११ लाख ७० हजार जनश्रमदानबाट सहयोग भइ योजना सम्पन्न भएको हो ।

प्रतिनिधि सभा सदस्य एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा, बागमती प्रदेश सभा सदस्य मीन कृष्ण महर्जन र च्वाइस नेपालका कार्यकारी प्रमुख प्रतिक शर्माले संयुक्त रूपमा एक कार्यक्रमबीच ‘एक घर एक धारा’को उद्घाटन गर्दै समुदायलाई हस्तान्तरण गरे। 

 

घण्टाैं लगाएर खानेपानीको जोहो गर्दै आएका बागमती गाउँपालिका–२ माल्टाका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । 

 

पहिले एउटा घरमा भएको धारामा पाँच परिवारले खानेपानी थापेर पानी ल्याउनुपर्ने अवस्था थियो। मिटर सहितको धारा जडान भएपछि अहिले त्यो समस्या हटेको छ। माल्टा फाँटका शिवप्रसाद दाहालले भने"पहिला ७४ घरधुरीले १७ वटा धाराको खानेपानी बाँडेर प्रयोग गर्नुपर्थ्यो अहिले घरघरमा धारा आएपछि खुसी भएका छौं"

यस्तै एक वर्षअघि मात्र नुवाकोटबाट बसाई सरेर आएका सोम तामाङले 'आफू सुरुमा आउँदा एक जर्किन पानी लिनको लागि घण्टौं कुर्नुपर्थ्यो।' अहिले त्यो समस्या हल भएको उनले सुनाए । उनले भने - 'घरमा धारा जडान भएपछि करेसाबारीमा तरकारी लगाउन थालेका छौं।'

बागमती गाउँपालिकाका अन्य दुई वडामा पनि यो परियोजना अन्तिम चरणमा पुगेको च्वाइस नेपालका कार्यकारी प्रमुख प्रतिक शर्माले बताए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मीन कृष्ण महर्जनले जनताको सेवा गर्नकै लागि राजनीतिमा प्रवेश गरेको बताउँदै सांसद महर्जनले जनताको सुख दुःखमा सँगै साथ दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। 

 

प्रतिनिधि सभा सदस्य उदयशमशेर राणाले आफ्नो क्षेत्रभित्र आएका विकास निर्माणका गतिविधिलाई सुरक्षा प्रदान गर्नु जनप्रतिनिधिको दायित्व भएको बताउँदै गैरसरकारी संस्था मार्फत आएका विकास पूर्वाधारका गतिविधि निर्धक्कताका साथ अगाडि बढाउन आग्रह गरे। 

सांसद राणाले भने-'आफ्ना क्षेत्र, पालिकाभित्र जति पनि विकास निर्माण हुन्छन् त्यसको निगरानी र अनुगमन गर्नु पनि हाम्रो दायित्व हो।'नेता राणाले अर्को एक प्रसङ्गमा कान्ति लोकपथ निर्माण कार्य तीव्र गतिमा बढेको तर पहिरोका कारण समस्या बढेको भन्दै सांसद राणाले पहिरो रोकथाम र नियन्त्रणका लागि जापानीज संस्था जाइकासँग सहकार्यको अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले कान्ति लोकपथले अब चाँडै पूर्णता पाउने जानकारी समेत दिए।

कार्यक्रममा ल्याटर डे, सेन्ट च्यारिटीज संस्थाका प्रतिनिधि, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष भक्तबहादुर दर्लामी, वडाध्यक्षहरू ज्ञानबहादुर लो, नवराज खड्का, च्वाइस नेपालका कार्यक्रम निर्देशक किरण न्यौपाने,जिल्ला संयोजक सुकराम दुलाल, निवर्तमान वडा अध्यक्ष बिजय कुमार लो लगायतको उपस्थिति रहेको थियो। 

बागमती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामबहादुर भोलुनको सभापतित्वमा सम्पन्न एक घर एक धारा हस्तान्तरण कार्यक्रम मा स्थानीय धामी झाँक्री नृत्य र पन्चेबाजा बजाएर अतिथिहरूलाई स्वागत गरिएको थियो।