काठमाडौँ । नुवाकोटका जनप्रतिनिधिले गङ्गटे–लब्दु–समुद्रटार–गोल्फुभञ्ज्याङ सडक कालोपत्रको प्रक्रिया अघि बढाउन माग गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई आज उनकै कार्यकक्ष सिंहदरबारमा भेटी नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत नेतृत्वको जनप्रतिनिधिको समूहले स्रोत सुनिश्चित भएर ठेक्का प्रक्रियामा अघि बढेको सडक यसअघिको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा रोकेको जानकारी गराएको हो । प्रतिनिधिमण्डलको कुरा सुनिसकेपछि मन्त्री दाहालले अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने गरी फाइल तयार पार्न मन्त्रालयका सचिव गोपाल सिग्देललाई निर्देशन दिए ।
मन्त्रीलाई ध्यानाकर्षण गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले आफू अर्थमन्त्री हुँदा स्रोत सुनिश्चित भएको उक्त सडकको काम सरकार परिवर्तन हुने बित्तिकै राजनीतिक पूर्वाग्रहका आधारमा ठेक्का प्रक्रिया रोकिँदा स्थानीयवासी निराश भएको बताए । ६७ किमी सडकको कालोपत्रका लागि रु एक अर्ब ३३ करोड स्रोत सुनिश्चित भइसकेको उनले जानकारी दिए ।
यो सडक कालोपत्र भएपछि नुवाकोटका चार पालिकासँगै सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिकाका सर्वसाधारणसमेत लाभान्वित हुने छन् । नुवाकोटका सूर्यगढी, लिखु, दुप्चेश्वर र तादी गाउँपालिकाका स्थानीयवासी सडकबाट लाभान्वित हुने छन् । दुप्चेश्वर मन्दिर जाने धार्मिक पर्यटकलाई सडकले सहज हुनेछ ।
तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ समुन्द्रटारबाट गोल्फु भञ्ज्याङसम्मको करिब २१ किमी सडक निकै अप्ठ्यारो रहेको बताए । गङ्गटेबाट लब्दु हुँदै समुद्रटारसम्मको सडक यसअघि कालोपत्र भइसकेकाले सहज रहेको उनले बताए । यो सडकको समुद्रटारसम्म मध्यपहाडी लोकमार्ग जोडिन्छ । सडकको चौडाइ बिस्तार गरी नौ मिटरबाट १५ मिटर बनाउने तयारी गरिएको छ । प्रतिनिधिमण्डलमा लिखु गाउँपालिका अध्यक्ष ध्रुुव श्रेष्ठ, सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले, दुप्चेश्वर गाउँपालिका–३ का वडाअध्यक्ष ध्रुव केसीलगायतको सहभागिता रहेको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ