सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

काङ्ग्रेस ललितपुर क्षेत्र नं.१ ले नवनियुक्त मन्त्री महर्जनसँग गर्यो भेटघाट तथा सम्मान कार्यक्रम

प्रकाशित समय: शनिवार, १२ : १० बजे श्रावण २६ गते



काङ्ग्रेस ललितपुर क्षेत्र नं.१ ले नवनियुक्त मन्त्री महर्जनसँग गर्यो भेटघाट तथा सम्मान कार्यक्रम

ललितपुर,नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले वागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री माननीय मीनकृष्ण महर्जनसँग आज भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। 

 

नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सुन्दर मान थिङको सभापतित्वमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थिए। 

कार्यक्रममा नवनियुक्त वागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री महर्जनलाई क्षेत्रीय कार्यसमितिले खादा, माला र प्रमाणपत्र सहित कार्यकालको सफलताको शुभकामना सहित सम्मान गरिएको थियो। 

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य माननीय उदय शमशेर राणाको  प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित नेताहरुले नवनियुक्त मन्त्री महर्जनलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। 

 

सो क्रममा पुर्व अर्थराज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर राणाले यस क्षेत्रले मन्त्रालयको जिम्मेवारी पाउँदा समग्र क्षेत्रको विकास हुने बताउदैं नेता राणाले क्षेत्रको विकास सँगसँगै संगठन पनि बलियो हुने धारणा राखे। उनले ललितपुरको विकासमा नेताहरु मिलेर एकताको सन्देश दिने हो भने कसैले ललितपुरमा काङ्ग्रेसलाई पराजय गर्न नसक्ने बताए। 

 

कार्यक्रममा नवनियुक्त मन्त्री महर्जनले आफ्नो प्रयासले मात्र यो जिम्मेवारी प्राप्त नभएको बताए। यस क्षेत्रका जिम्मेवार नेता र कार्यकर्ताहरुको अथक प्रयासले सार्थक रूप पाउन सकेको मन्त्री महर्जनको भनाइ थियो। मन्त्री महर्जनले आफुले पाएको जिम्मेवारी सम्हालेका दिन बाटै खेलकुद मन्त्रालयमा भएका विकृति रोक्न र सच्याउन आफु लागिपरेको बताए।आफु बाल्यकाल अवस्था देखि खेलकुदमा रुचि राख्दै यहाँसम्म आइपुगेको बताउदैँ युवार र खेलाडीलाई कहिल्यै निराश हुन नदिने गरि काम गर्ने बताए। 

 

नेता महर्जनले विकास निर्माणका सन्दर्भमा पनि आफ्नो क्षमताले भ्याएसम्म काम गरेर देखाउने प्रण गरे। उनले पार्टीले दिएको जिम्मेवारीलाई पार्टीका नेता र कार्यकर्ताको शिर ठाडो पारेर हिड्न सक्ने बनाउने प्रतिवद्धता व्यक्त गरे। 

 

नवनियुक्त मन्त्रीलाई बधाई दिने क्रममा बागमती प्रदेशका सह महामन्त्री ऋषिराम घिमिरेले मन्त्री महर्जनले खेलकुदका क्षेत्रमा ठुलो योगदान गरेको कारण आज यो सम्मान पाएको बताए। उनले वागमती प्रदेशले आँट र भरोसा भएको योग्य मन्त्री पाएको बताए। 

 

नेपाली कांग्रेसका पुर्व आमन्त्रित केन्द्रीय सदस्य कवेल बहादुर लामाले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिदै नवनियुक्त मन्त्रीहरूलाई सकारात्मक सल्लाह र सुझाव दिँदै पाएको जिम्मेवारी सफल बनाउन सहयोग गर्नुपर्ने बताए। 

 

नेपाली कांग्रेस ललितपुरका प्रभावशाली नेता मथुराप्रसाद घिमिरेले तमाम साथीहरूको इमान्दारिता मेहनत, त्याग तपस्या, संघर्ष र इमान्दारिताको कारणले गर्दा नेपाली कांग्रेस पार्टीले महर्जनलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको बताए। नेता घिमिरेले संगठनले कर्मीहरू र यो क्षेत्रका मतदाताहरुको भावनाअनुसार काम गर्न मन्त्री महर्जनलाई सुझाब दिए। 

 

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले नवनियुक्त मन्त्री महर्जनलाई युवा तथा खेलकुद मन्त्री मात्रै नभएर यस क्षेत्रको विकास तथा पूर्वाधारको मूल फुटाउने नेताको रूपमा पाएको बताए। 

 

नेपाली कांग्रेसका जिल्ला सहसचिव तथा महाङ्काल गाउँपालिका प्रमुख गणेशबहादुर केसीले मिनी रङ्गशालाको परिकल्पना गरेको बताउँदै यसका सम्बन्धमा नवनियुक्त मन्त्रीबाट छिट्टै सम्बोधन हुने विश्वास व्यक्त गरे। 

 

महासमिति सदस्य खोमप्रसाद घिमिरेले क्षेत्र नम्बर १ का नेता कार्यकर्ताको योगदानले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएको बताउँदै नेता घिमिरेले खेलकुद जगत मात्रै नभएर निर्वाचनका समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्ने जिम्मेवारी नवनियुक्त मन्त्रीको काँधमा रहेको बताए। 

 

अर्का महासमिति सदस्य रामकृष्ण लामा (इन्द्र) ले आफ्नै क्षेत्रको नेता मन्त्री भएको देख्न पाउँदा हर्षोल्लास भएको भन्दै खुसी व्यक्त गरे।

त्यस्तै महासमिति सदस्य बिमलचन्द्र बिष्टले आफ्नो लगनशीलता र इमान्दारिताले आफ्नो गन्तव्यमा पुग्न सकिन्छ भन्ने उदाहरण नवनियुक्त मन्त्री महर्जनबाट प्राप्त भएको उल्लेख गरे। 

 

त्यस्तै महासमिति सदस्य सानु कान्छा मोक्तानले खेलकुद मन्त्रालयले युवा तथा खेलकुद अन्तर्गतका सङ्घ संस्थामा दिने जिम्मेवारीहरूमा खेलकुद क्षेत्रका युवा तथा खेलाडीलाई प्राथमिकतामा राखिदिन आग्रह गरे। 

 

महिला नेतृ महासमिति सदस्य शशी गुरुङ खड्काले खेलकुद पृष्ठभूमि भएका नेताले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकाले खेलकुद क्षेत्रले खड्को मार्ने विश्वास व्यक्त गरिन्। 

 

नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति महेश्वर थापाले ललितपुरले मात्रै होइन बागमती प्रदेशले युवा तथा खेलकुदको भावना बुझ्ने मन्त्री पाएको बताए।

नेपाली कांग्रेसका पुर्व सचिव रविन्स शर्माले नवनियुक्त मन्त्री महर्जनको बाल्यकालदेखि हालसम्मको राजनीतिक पृष्ठभूमि बताउँदै नेपाली कांग्रेसका नेता कार्यकर्ता एकजुट भएर लाग्दा ललितपुर क्षेत्र नम्बर १ ले यो सफलता हात पारेको बताए। 

 

वागमती गाउँपालिका प्रमुख वीर बहादुर लोप्चनले प्रदेश सरकारले बजेट बाँडफाँड गर्दा अघिल्लो सरकारका पालामा भेदभाव गरेको गुनासो गर्दै अबका दिनमा यस्तो भेदभाव गर्न नहुने बताए।