सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

नेपालको संविधान महिला मैत्री छ - काङ्ग्रेस सहमहामन्त्री डिना उपाध्याय

प्रकाशित समय: बुधवार, ०७ : ३२ बजे भदौ १२ गते



नेपालको संविधान महिला मैत्री छ - काङ्ग्रेस सहमहामन्त्री डिना उपाध्याय

ललितपुर,नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले  नेपालको संविधान महिला मैत्री रहेको बताउनुभएको छ। उहाँले महिलाहरुले आन्दोलन गरेर यो उपलब्धि हाँसिल गरेको बताउनुभयो।

नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा नेपाल महिला संघ, ललितपुरद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेता उपाध्यायले संविधान महिला मैत्री भए पनि यसको कार्यान्वयनमा समस्या रहेको बताउनुभयो। समानता र समावेशीको मुद्दा स्थापित र कार्यान्वयन नेपाली कांग्रेसबाट मात्रै सम्भव हुने उहाँको भनाइ थियो। 

 

कार्यक्रममा शुभकामना दिने क्रममा प्रतिनिधि सभा सदस्य उदय शमशेर राणाले नेपाली महिलाहरूको महान चाड हरितालिका तीज पर्वले एकता र मेलमिलाप सन्देश दिने बताउनुभयो। उहाँले अहिले देशका ठूला दलहरू मिलेर सरकार बनाइएको प्रसङ्गमा बोल्दै राजनीतिक स्थिरताका लागि ठूला दलहरू मिल्नुको विकल्प नभएको बताउनुभयो। उहाँले भन्नुभयो-'पटकपटक सरकार परिवर्तन हुँदा देशमा अस्थिरता बढेको छ। सङ्घ र प्रदेशमा समावेशी प्रतिनिधित्व हुँदाहुँदै पनि स्थिर सरकार नहुँदा विकासले गति लिन सकेको छैन।' यसको मुख्य कारण अहिलेको निर्वाचन प्रणाली भएको उहाँको भनाइ थियो। उहाँले नेपाली काङ्ग्रेस मात्रै नभएर सम्पूर्ण दल मिलेर यसको परिमार्जन गर्नुपर्ने बताउनुभयो। उहाँले समावेशी प्रतिनिधित्व कायम राख्दै महिलाको हकमा सम्बन्धमा आफू सधैँ लागिपर्ने बताउनुभयो। 

 

कार्यक्रममा नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठले अहिले नेपाली काङ्ग्रेसले देशैभर क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलाई पार्टीले प्राथमिकतामा राखेकाले यस कार्यमा सघाउन आग्रह गर्नुभयो। 

 

नेपाल महिला सङ्घका ललितपुरका जिल्ला अध्यक्ष ललितपुर महानगरपालिकाका पूर्व उपमेयर गीता सत्यालको सभापतित्वमा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय नक्खीपोटमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काङ्ग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरे, सचिव वशिष्ठ कुमार अधिकारी, नेपाल महिला सङ्घका केन्द्रीय सदस्य,जिल्ला पदाधिकारी सदस्य, नेपाली कांग्रेस ललितपुरका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो।