सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, २१ आश्विन २०८१ / Monday, 07 October 2024

गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रको मुखपत्र २०८१ लोकार्पण

प्रकाशित समय: आइतवार, ०८ : ५८ बजे भदौ १६ गते



गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रको मुखपत्र २०८१ लोकार्पण

ललितपुर,गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रको मुखपत्र २०८१ लोकार्पण गरिएको छ । पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाली कांग्रेसका महामन्त्री माननीय गगनकुमार थापाको प्रमुख आतिथ्यतामा मुखपत्रको लोकार्पण गरिएको हो । 

 

कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा भर्खरै पुस्तकालय स्थापना गरेको स्मरण गर्दै उक्त पुस्तकालय स्थापना गर्न गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रले महत्वपूर्ण भूमिका र प्रेरणा मिलेको बताए। महामन्त्री थापाले समुदायमा पुस्तकालय स्थापनाले सही सूचनाको पहुँच पुग्ने र समुदाय अझ शिक्षित हुने बताए। उनले भने-'सूचना प्रविधिको पहुँच हुने बीच प्रतिस्पर्धा रहने यो अवस्थामा हामीले प्राप्त गरेको सूचनाको विवेचना गर्ने क्षमताको विकास पुस्तकालयले प्रदान गर्छ।'त्यसैले यसलाई जीवन्त राख्न समुदाय नै बढी जिम्मेवार रहनुपर्ने बताए। 

 

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पुस्तकालय व्यवस्थापनमा आफ्नो र मन्त्रालयको तर्फबाट आवश्यक जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए। 

 

कार्यक्रममा साहित्यकार डाक्टर नवराज लम्सालले गोदावरी सामुदायिक पुस्तकालय भवनभित्र छिरेपछि सबै ज्ञान प्राप्त हुने महसुस गरेको धारणा राखे। मदन पुरस्कार विजेता समेत रहेका डाक्टर लम्सालले यो पुस्तकालयले समुदायलाई एकतामा बाँध्ने काम गरेको बताए। 

 

कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँल, गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी नेकपा एमालेका जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य लगायतका वक्ताले पुस्तकालयले गरेका गतिविधिका बारेमा बोल्दै प्रशंसा गरे। 

 

सत्रौँ राष्ट्रिय पुस्तकालय दिवस एवं १५९औं मोती जयन्तीको अवसरमा गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्र र गोदावरी साहित्य परिषद्को संयुक्त आयोजनामा भएको कार्यक्रममा पुस्तक लोकार्पणसँगै साहित्यिक रचना वाचन, सांस्कृतिक कार्यक्रम बृहत रक्तदान कार्यक्रम तथा सम्मान कार्यक्रम गरिएको थियो। 

 

कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए। 

 

पुस्ताकालय प्राङ्गणमा पुस्तकालयका सल्लाहकार, स्थानीय श्यामकुमार घिमिरेले आफ्नै व्यक्तिगत खर्चबाट फलैचा पाटी निर्माण गरेकाले उनलाई सम्मान गरिएको थियो। 

 

सुनगाभा साहित्य सदनका अध्यक्ष रामसुन्दर केसी, महालक्ष्मी साहित्य समाजका अध्यक्ष श्रीराम पौडेल लगायत अन्य ६ जना स्रष्टाहरूले साहित्यिक रचना वाचन गरेका थिए। 

 

कार्यक्रममा पुस्तकालयको विकास र प्रवर्धनमा योगदान पुर्‍याउनुहुने स्थानीय नौ जना स्वास्थ्य स्वयंसेविका हरूलाई सम्मान गरिएको थियो। त्यस्तै पुस्तक लेखन तथा सम्पादनमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। 

संस्थामा रु ५००० शुल्क बुझाई आजीवन सदस्य बन्ने थप १३ जनालाई आजीवन सदस्यता प्रदान गरिएको थियो। 

 

कार्यक्रमको साझेदारी गोदावरी नगरपालिका वडा नम्बर ४ बढीखेलले गरेको थियो।