सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, २० कार्तिक २०८१ / Tuesday, 05 November 2024

दक्षिण ललितपुरमा पाँच दिनदेखि विद्युत् अवरुद्ध, सञ्चालन हुन अझै एक हप्ता लाग्ने

प्रकाशित समय: बिहिवार, ०८ : १४ बजे आश्विन १७ गते



दक्षिण ललितपुरमा पाँच दिनदेखि विद्युत् अवरुद्ध, सञ्चालन हुन अझै एक हप्ता लाग्ने

ललितपुर, असोज ११ र १२ गते आएको अविरल वर्षाले बाढी तथा पहिरो जाँदा दक्षिण ललितपुरका विद्युतका खम्बा र ट्रान्सफर्मरमा क्षति पुर्‍याएपछि पाँच दिनदेखि सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।  महाङ्काल गाउँपालिकामा धामी खोला, टुंगुन खोला र मसानखोलामा आएको पहिरो सहितको भेलले १०० केबीएको ट्रान्सफर्मर बगाएको छ। 

 

महाङ्काल गाउँपालिका कार्यालय नजिकै रहेको ट्रान्सफर्मरसँगै बाढीले (प्रसारण लाइन ११ मिटर हाइट)१५ वटा विद्युतका पोलमा क्षति पुर्याएको छ। त्यस्तै गाउँपालिकाको वडा नम्बर २ मानीखेलमा पाँचवटा विद्युतका पोलमा पहिरोले क्षति पुर्‍याएको छ।कोन्ज्योसोम गाउँपालिकामा विद्युत प्रसारण लाइनका १२ वटा पोल बाढीले बगाएको छ। 

 

बागमती गाउँपालिकामा १७ वटा विद्युतका पोल बगाएको छ। त्यस्तै महाङ्काल गाउँपालिका र बागमती गाउँपालिकाको सिमानामा पर्ने हुचिटार नजिकै १५ वटा पोल बागमती नदीले बगाएको छ। त्यस्तै गोदावरी नगरपालिकाका वडा नम्बर ७ मा पहिरोले विद्युतका ४ वटा पोल भाँचिएका र पुरिएका छन्। त्यस्तै कोन्ज्योसोम गाउँपालिकामा ५० केभिएका तीनवटा ट्रान्सफर्मरमा क्षति पुगेको छ। 

 

बाढी र पहिरोले बगाउँदा विद्युत् का खम्बामा क्षति पुगेकाले मर्मत गर्न कठिनाइ भएको ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्द बजगाईंले बताए। 

 

उनले भने"दक्षिण ललितपुरका ठाउँठाउँका फिडरलाइनमा भएका ७८ वटा विद्युतका पोलहरु बाढीले बगाएको छ।

धेरै जस्तो ठाउँमा पोलहरू भाँसिएका छन् भाँसिएका पोलहरूलाई सिधा गर्ने काम भइरहेको छ। सडक अवरुद्ध हुँदा विद्युतका पोल बगाएका ठाउँमा पोल बोकेर लान सक्ने अवस्था छैन। 

 

अध्यक्ष बजगाईका अनुसार मेन फिडरलाइन नल्लु देखि उन्युचौरसम्मको काम सकिएको छ। बागमती गाउँपालिकातर्फ तीनपाने भन्ज्याङदेखि आश्रमसम्मको मेन फिडरलाइन तयार गरिसकेको उनको भनाइ थियो। गोदावरी नगरपालिकाको देवीचौर र बागमती गाउँपालिकाको घुसेल मा केही काम बाँकी रहेको उनले बताए। गोटिखेल-कपिराङ-गिम्दीमा सडक अवरुद्ध हुँदा काममा ढिलाई हुन पुगेको छ। 

 

उनले भने" नेपाल विद्युत प्राधिकरणले तिनपाने भन्ज्याङ र नल्लु भन्ज्याङमा विद्युत प्रसारण लाइन जोडी दिए माथिका तयार भएका फिडर लाइनमा सहजै विद्युत आपूर्ति हुने थियो। " 

 

अध्यक्ष बजगाईंले महाङ्काल गाउँपालिका र बागमती गाउँपालिका वडा नम्बर ७ आसपासका क्षेत्रमा भने अझै एक हप्ताभन्दा बढी समय लाग्ने बताए। 

 

"काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा चापागाउँ - छपेली - गिम्दी फिडरलाइनबाट विद्युत सञ्चालन हुने भएकाले सो क्षेत्रमा सहजै विद्युत सञ्चालन हुन कठिनाइ छ।" 

 

अध्यक्ष बजगाईंले विद्युत छिटो मर्मत गरी सञ्चालन गर्न ८० भन्दा बढी कर्मचारी र मजदुरलाई फिल्डमा खटाइएको बताए। 

 

विद्युत् अवरुद्ध हुँदा महाङ्काल गाउँपालिका,कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिका आसपासका क्षेत्रका बासिन्दाको दैनिकी प्रभावित हुनुका साथै सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ।