ललितपुर, असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाले बाढी पहिरो जानुका साथै अधिकांश बस्ती डुबानमा परेको छ। बाढी पहिरोले धेरै स्थानहरूमा पानीका मुहानमा क्षति पुर्याएको छ। पहिरोले महाङकाल गाउँपालिका कोन्ज्योसोम गाउँपालिका र बागमती गाउँपालिकाका करिब ९०० घरधुरीमा पूर्ण तथा आंशिक क्षति पुर्याएको छ।
पहिरोले क्षति पुर्याइएका स्थानमा आंशिक रुपमा खानेपानीको व्यवस्था गरिएको भएपनि शुद्ध पानी भने छैन। बाढीले महाङ्काल गाउँपालिकामा १३ जना गाउँपालिकामा कोन्ज्योसोम गाउँपालिकामा तीन जना र बागमती गाउँपालिकामा तीनजनाको ज्यान समेत गएको छ।मृत्युमा भएकामध्ये तीनजनाको शरिर अझै फेला परेको छैन।
बाढी पहिरोले घरगोठ बगाउँदा गाई ,भैँसी, बाख्रा र कुखुरा समेत बगाएको छ। शुद्ध पानी पिउन नपाउँदा पानीजन्य रोगको उच्च जोखिम देखिएको छ । बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा गाईभैंसीका सिनो गनाउने, उड्ने पन्छीले सिनु बोकेर पानीका मुहानमा लैजाँदा पानीजन्य रोगको जोखिम उच्च देखिएको हो ।
बाढी पहिरो र डुबानका कारण घरपरिवार विस्थापित भएका प्रभावितहरू छिमेकीको घर तथा सरकारी भवनमा बस्न बाध्य भएका छन् । सामूहिक बसाइँमा सरसफाइमा ध्यान नदिँदा विभिन्न किसिमका सरुवा रोग फैलन सक्ने खतरा बढेको छ ।
महाङ्काल गाउँपालिका वडा नम्बर ३ गोटीखेलमा सिसवन-मसानखोला बाट आंशिक रुपमा खानेपानीको व्यवस्था गरिएको छ। तर मुहान भत्किएकाले शुद्ध पिउने पानी दूषित हुन सक्ने सम्भावना बढेको छ। गाउँपालिकाकै वडा नम्बर २ मानीखेल स्थित ठोट्नेखोला आसपासका क्षेत्रमा पनि समस्या उस्तै छ।
महाङकाल गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं २ का वडा अध्यक्ष जोनीकुमार न्यासुरले ठोस्नेखोला,मुल खोलाका ८ वटा मुहानहरू भत्किएकाले खानेपानीको चरम समस्या देखिएको बताए। उनले भने"अस्थायी मुहानबाट करिव दुई सय घरधुरीलाईको स्थानीयको सहयोगमा पाइप बिछ्याई खानेपानीको व्यवस्था गरिएको छ। तर शुद्धिकरणका विषयमा अन्योलता रहेको उनी बताउँछन्।
कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले गाउँपालिकामा सडक अवरुद्ध हुँदा यहाँका बाढीपहिरो प्रभावितलाई प्रत्यक्ष असर परेकाले पहिला सदरमुकामसँग यातायात जोड्न सडक मर्मतको कार्य अगाडि बढाएको बताए।
उनले गाउँपालिकाको प्रभावित क्षेत्र नल्लु, चौघरे, दलचोकी लगायतका गाउँमा खानेपानीको समस्या आंशिक रूपमा सावधान गरिएको भएपनि पानीबाट बढ्न सक्ने सरुवा रोगका सम्बन्धमा आफू चिन्तित रहेको उनले सुनाए।
बागमती गाउँपालिका अन्तर्गत रहेको थाङ्सिङ्टार अस्पतालका इन्चार्ज डा. सृष्टि दूधराजले बाढी पहिरोका कारण अस्पतालमा आउने पानीको पाइप फुटेपछि खानेपानीका लागि चार दिन एकदमै कष्ट भोग्नुपरेको सुनाउँदै डाक्टर दूधराजले बाढी पहिरोका समयमा पानीका मुहान दुषित हुने भएकाले पानी उमालेर मात्र पिउन सुझाव दिए।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.भुवन पौडेलले स्थानीय तहमा रहेका स्वास्थ्य शाखासँग समन्वय गरेर डाटा सङ्कलनको कार्यका साथै पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइराखेको जानकारी दिए। उनले भने"जिल्लामा मौजात रहेका औषधिहरू पालिकामा पठाउने काम गरेको छौं"बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा पानी शुद्धिकरण गर्न क्लोरिन ट्याब्लेट माग गरिएको छ। उपलब्ध हुने बित्तिकै हामी पालिका स्वास्थ्य शाखा मार्फत वितरण गर्नेछौं।" बाढी पहिरो प्रभावित क्षेत्रमा जिल्ला तथा पालिकामा रहेको आरआरटी परिचालन गरिएको उनले बताए।
वर्षातका समयमा पिउने पानीको मूल स्रोत दूषित हुँदा झाडापखाला, हैजालगायतका पानीजन्य रोगहरू देखिन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरूले सुझाएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ