ललितपुर,ललितपुरस्थित ‘छपेली–माझखण्ड केबुलकार’को निर्माण कार्यको शिलान्यास माघ २१ गते हुँदैछ । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का सांसद एवम् पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बटम स्टेसन छपेलीमा शिलान्यास गर्ने कार्यक्रम रहेको डेष्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले बताए ।
डेष्टिनेशन माझखण्ड कम्पनीले दक्षिण एशियाकै पहिलो अत्याधुनिक केबुलकार सेवासहतिको पर्यटन प्रवर्धनको काम गर्न लागेको सो कम्पनीले जनाएको छ । यो केबुलकार नेपालकै पहिलो युरो स्ट्याण्डर्ड सर्टिफाइड हुने पनि कम्पनीले जनाएको छ । काठमाडौँबाट हेटौँडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट सुरू हुने केबुलकारमा माझखण्डसम्मको २.८ किमीको यात्रा बिनाटावरको स्टेशन टु स्टेशन हुने पनि कम्पनीका अध्यक्ष सञ्जेलले बताए ।
'केबुलकारको टप स्टेशन माझखण्ड १ हजार ७ सय ८६ मिटर उचाइमा रहेको छ । जहाँबाट हिमाल, पहाड र तराई मधेशको वीरगंजसम्म दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ । माझखण्डभन्दा करिब ५ किमी माथि रमितेबाट सगरमाथाको रेञ्ज, तराई मधेश र काठमाडौँ उपत्यकासमेत एकैस्थलबाट लोभलाग्दो दृश्यावलोकन गर्न सकिन्छ । रमिते अति नै दुर्लभ भूस्थल हो,' सञ्जेलले भने ।
सञ्जेलले भने,‘माझखण्ड केबल कारले नेचर, कल्चर र एडभेन्चरको संयोजनसहित पर्यटक र तीर्थयात्रीहरूका लागि एक अद्वितीय प्याकेज सिर्जना गर्ने छ । चाहे तपाईं शान्ति, आध्यात्मिकता वा उत्साह खोज्नुहोस्, माझखण्ड तपाईंको उत्तम गन्तव्य बन्छ ।’
महारुद्रेश्वर महादेव, विश्वकै ठुलो थाङ्का (७०/६० मिटर) प्रदर्शनस्थल तथा बौद्ध गुम्बा र बिहारसहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवर्धनका लागि यो केबुलकार निर्माण थालिएको कम्पनी सञ्चालक डोलकेशर दहालले बताए ।
उनका अनुसार सुविधा सम्पन्न होटेल, रेष्टुरेण्ट, फनपार्क, जीपलाइनसहितको पर्यटन प्याकेज लिएर डेष्टिनेशन माझखण्ड कम्पनीले काम थालेको हो । जिल्लाका सबै राजनीतिक दल, सांसद्, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण डेढ वर्षभित्र काम सक्ने गरी द्रुत गतिमा अघि बढ्ने पनि उनले बताए ।
यो केबुलकार निर्माण भएर सञ्चालनमा आउँदा ललितपुर जिल्लाको मात्र नभई समग्र मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने अपेक्षा गरिएको छ । पर्यटन प्रवर्धन, रोजगारसँगै स्वरोजगार सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि छपेली-माझखण्ड केबुलकार उदाहरण बन्ने विश्वास गरिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ