ललितपुर,गोदावरी नगरपालिका वडा नम्बर १ गोदामचौर स्थित १०८ धारा मुक्तिनाथ धाम, ढुङ्गासाँघुमा 'मुक्तिनाथ धाम धार्मिक महोत्सव २०८१'हुने भएको छ।
मुक्तिनाथ धाम भजनघर निर्माण तथा धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ धार्मिक महोत्सवको आयोजना गर्न लागिएको मुक्तिनाथधाम संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष शिवराम थापाले जानकारी दिए।
२०८१ चैत २४ गते आइतबार राम नवमीको दिनबाट सुरु भई चैत्र ३१ गते समापन हुने ढुङ्गासाँघु १०८ धारा मुक्तिनाथ धाममा श्री विष्णु पुराण भक्ति वेदान्त संगीतमय कथा श्रवण गर्न सकिने छ।
धामका परिकल्पनाकार अन्तर्राष्ट्रिय कथावाचक व्यासाचार्य श्रद्धेय श्री भुवनगुरुज्यूको मुखारबिन्दबाट कथा वाचन तथा ख्याति प्राप्त राष्ट्रिय कलाकारबाट संगीतमय भजन हुने छ।
विंशखुनारायण मन्दिरको पाउ तथा गौमती खोला किनारमा अवस्थित मुक्तिनाथधामको परिकल्पना अन्तर्राष्ट्रिय कथावाचक व्यासाचार्य श्रद्धेय श्री भुवनगुरुज्यूले गरेका थिए।
धाम निर्माण गर्ने उद्देश्यका साथ उक्त स्थानमा २०७४ साल कात्तिक २४ गतेबाट श्रीमद् भागवत ज्ञान सप्ताह लगाइएको थियो। सप्ताहबाट ४२ लाख नगद र पानीको मूल भएको स्थानको ४ आना जग्गा दानवीर बाट प्राप्त भएको थियो। उक्त उठेको रकमबाट परिकल्पना गरेको मुक्तिनाथ धामको निर्माण कार्य सुरु भएको थियो।
२०७८ साल असोज २५ गते मुस्ताङको मुक्तिनाथबाट हेलिकप्टर मार्फत जल र पुष्प ल्याई स्थापना भएको मुक्तिनाथधामलाई पुष्पवृष्टि तथा जलसेचन गरी उद्घाटन गरिएको थियो।
त्यसपछि मन्दिर वरपर थुप्रै भौतिक संरचनाहरु निर्माण भइरहेका छन्। बाँकी रहेका संरचना निर्माण र यस क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलको प्रचारप्रसारका लागि पनि महोत्सवले टेवा दिने गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीराज थापाले बताए।
गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीले पनि भिडियो सन्देश मार्फत महोत्सव सफल बनाउन र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ धाममा दर्शन गर्न आउन नगरबासी एवं आम नागरिकलाई अनुरोध गरेका छन्।
सात दोबाटोबाट सात किलोमिटर पक्की सडक यात्रापछि पुगिने मुक्तिनाथ धाममा अहिले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ।
धार्मिक महोत्सवका लागि मन्दिर र ढुङ्गेधारा वरपर सरसफाई गरी मन्दिर र ढुङ्गेधारा सिँगारिएको छ। धाम प्रवेश गर्ने मुख्यद्वार दमाईंटारबाट मुक्तिनाथ धाम १०८ ढुङ्गे धारासम्म झिलिमिली बत्ती र धार्मिक ध्वजा झन्डाले विवाह मण्डप झैँ सिँगारिएको छ।
मुक्तिनाथ धाममा दर्शन तथा १०८ जलधारामा स्नान गर्नाले सबै पाप नाश हुने र नरकमा रहेका पितृ पनि यस क्षेत्रमा गरिएको तर्पणले तत्काल मुक्त हुन्छन् भन्ने
जनविश्वास रहिआएको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ