ललितपुर,ललितपुरको बागमती गाउँपालिकाकि एक वृद्धाले ८४ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन्। बागमती गाउँपालिका वडा नम्बर ६ आश्रमकी स्थानीय बुद्धिमाया सिंगारले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट वंशजको आधारमा नागरिकता प्राप्त गरेकी हुन्।
लामो समयदेखि नागरिकता बनाउनको लागि हारगुहार गरेपनि सिंगारले नागरिकता बनाउन सकेकी थिइनन्।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि वडा नम्बर ६ का वडा अध्यक्ष नारायण भोम्जनले उनलाई नागरिकता दिलाउन पहल थालेका थिए।
वडा अध्यक्ष भोम्जनले नेपाली नागरिक भएर पनि जीवनको उत्तरार्धसम्म पुग्दा नेपाली नागरिक भएर राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनु परेकाले आफूले जसरी भएपनि नागरिकता बनाउन सहयोग गर्ने प्रण गर्दै लागि परेको बताए।
आमा बुबा पहिलै गुमाएकी अविवाहित वृद्धा गाउँघरमा आश्रय लिँदै बस्दै आएकी थिइन्। अध्यक्ष भोम्जनको पहलपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले चलानी नम्बर ९१२५ मिति २०८२ वैशाख ७ गते तालुक कार्यालयलाई पत्र लेख्दै प्रहरी अधिकृत सहितको टोली खटाई स्थानीय भद्र भलाद्मी, बुद्धिजीवी तथा जनप्रतिनिधिको रोहोबरमा सर्जिमिन गरेको थियो।
त्यस्तै बागमती गाउँपालिका वडा नम्बर ६ वडा कार्यालयले पनि चलानी नम्बर ७१५ मिति २०८२ वैशाख ९ गते सर्जिमिन गरी निज सिंगारलाई वंशजको आधारमा नागरिकता दिन मिल्छ, निजले हालसम्म नागरिकता प्रमाणपत्र नलिएकाले नागरिकता पाउनको लागि जिल्ला प्रशासन कार्यालयमा सर्जमिनसहितको सिफारिस गरेको थियो।
अध्यक्ष भोम्जनका अनुसार सिंगारले नागरिकता नपाउनुको मुख्य कारण सिंगार आफैँ सुस्त मनस्थितिको रहेको र निजको भाइ महावीर सिंगार पनि शारीरिक अपाङ्गता रहेकाले नागरिकता बनाउन ढिलाई भएको बताए।
सिंगारलाई नागरिकता प्राप्तिका लागि सनाखत गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरमा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन र वडा अध्यक्ष नारायण भोम्जन सिंगारसँगै उपस्थित थिए।
सिँगारले नागरिकता प्राप्त गरेसँगै राज्यबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा पाउने बाटो खुलेको छ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ