सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १२ जेठ २०८२ / Sunday, 25 May 2025

राजनीतिक खेल पनि खेलकुद जस्तै निश्चित अनुशासनभित्र बसेर खेल्नुपर्छ-गृहमन्त्री लेखक

प्रकाशित समय: शनिवार, ०७ : ४४ बजे बैशाख २० गते



राजनीतिक खेल पनि खेलकुद जस्तै निश्चित अनुशासनभित्र बसेर खेल्नुपर्छ-गृहमन्त्री लेखक

ललितपुर,नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखकले खेलकुदले मानिसलाई अनुशासनमा बाँध्ने बताएका छन्। खेल नियम र अनुशासनमा बसेर खेलाइने भएकाले खेलकुदको महत्त्व बढेको बताउँदै गृहमन्त्री लेखकले खेल र खेलाडीबाट यो कुरा सिकेर राजनीतिक खेल पनि निश्चित अनुशासन भित्र बसेर खेल्नुपर्ने बताए। 

 

गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यका व्यापी अन्तरपालिका खुल्ला गोदावरी मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री लेखकले खेल मानिसको शारीरिक तन्दुरुस्तका लागि मात्रै नभएर मानिसको मानसिक स्वस्थताका लागि पनि खेल आवश्यक रहेको बताए।

 

उनले भने -'अहिले मुलुकमा लागू औषधको बढ्दो दुर्वेशन, आत्महत्या, सडक दुर्घटना, साइबर क्राइम जस्ता चुनौतीहरू हाम्रो समाजमा देखा परेका छन्,'खेलको विस्तारले युवा र खेलाडीको लगन र मेहनतले लागू औषधको दुर्वेसनको स्थिति घटाउन सकिने अवस्था छ।' उनले राजनीति गर्नेहरूको खेल भनेको संविधान हो कानुन हो त्यसोको परिधिभित्र बसेर काम गर्ने वातावरण खेलकुदले नै सिकाउने बताए।

 

बागमती प्रदेशका खेलकुद मन्त्री माननीय मिनकृष्ण महर्जनले आफूले मन्त्रीको कार्यभार सम्हाल्दाको पहिलो निर्णय नै बहुउद्देश्यीय रङ्गशाला निर्माणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रणसहित हस्ताक्षर गरेको बताए। मन्त्री महर्जनले खेलमैदान निर्माण गर्नको लागि लागि स्थानीय तहले सोचेभन्दा बढी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए। उनले खेलकुद क्षेत्रलाई बलियो बनाउन आफू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए।

 

नगर प्रमुख गजेन्द्र महर्जनले नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए। उनले स्थानीय तहको बजेटले मात्रै विकास तथा खेलकुद पूर्वाधारमा काम गर्न नसकिने भएकाले प्रदेश र सङ्घीय सरकारको सहयोगको अपेक्षा गरे। नगर प्रमुख महर्जनले यस्ता प्रतियोगिता आयोजना गरेर स्थानीय तहबाटै खेलाडी उत्पादन गर्ने र खेलाडीहरूलाई खेलजीवनबाटै जीवनयापन गर्न सक्ने बनाउने लक्ष्यका साथ यस्ता प्रतियोगिताको आयोजना गरिएको बताए।

 

बागमती प्रदेश सांसद मधुसुदन पौडेलले गोदावरी नगरपालिकाले युवाहरूलाई लक्षित खेलकुदको आयोजना गरेकोमा गोदावरी नगरपालिकालाई धन्यवाद दिए।

 

बागमती प्रदेशका अर्का सांसद उर्मिला लामाले यो प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कुशल खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरिन्। 

 

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले उपत्यकाका नगरपालिका र गाउँपालिकालाई समेटेर खेलकुदको आयोजना गरेको प्रति नगरपालिका परिवारलाई धन्यवाद दिए। समन्वय प्रमुख फुयाँलले यस्ता खेलकुद प्रतियोगिता आयोजना गर्दा पालिका- पालिकाबीच समन्वय बढ्ने, कुशल खेलाडी उत्पादन हुने, खेलाडीलाई हौसला बढाउने कुराको महत्व राख्ने बताए। खेलकुदको हित र खेलाडीको आवश्यकतालाई बुझेर नगरपालिकाले खेलकुद क्षेत्रमा लगानी गरेकोमा प्रमुख फुयाँलले आभार व्यक्त गरे। 

कार्यक्रममा गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारी, प्रवक्ता मिलन सिलवाल, खेलकुद संयोजक निरोज बज्राचार्य लगायतले आफ्नो मन्तव्य राखेका थिए।

आजबाट सुरु भएको प्रतियोगिता जेष्ठ ३ गते समापन हुनेछ।