ललितपुर, गोदावरी नगरपालिकाले आजदेखि अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित भएको औपचारिक घोषणा गरेको छ। शुक्रबार नगरपालिकाको बज्रबाराही हलमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलको प्रमुख आतिथ्यता तथा नगर प्रमुख गजेन्द्र महर्जनको अध्यक्षतामा घोषणा गरिएको हो।
कार्यक्रममा नगर प्रमुख महर्जनले "अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चितता" भन्ने ब्यानर पढ्दै गोदावरी नगरपालिकाभित्रका ५ देखि १३ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालयमा भर्ना भइसकेको जानकारी दिए। नगरपालिकाको युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख दिनानाथ पन्थीका अनुसार हाल नगर क्षेत्रमा विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालयबाहिर छैनन्।
नगरको १४ वटै वडामा वडा शिक्षा समितिहरूको सहकार्यमा घरधुरी सर्वेक्षण गरी शिक्षाबाट वञ्चित बालबालिकाहरू पहिचान गरियो। त्यही सर्वेक्षण अनुसार पहिचान गरिएका १०२ जना बालबालिकालाई नजिकको विद्यालयमा भर्ना गरिसकिएको पन्थीले बताए।
सामाजिक विकास समितिका संयोजक तथा वडा नं १० का अध्यक्ष शेखर न्यौपानेले बालबालिकाको शिक्षामा शून्य बहिर्गमन दर कायम गर्न व्यापक खोजतलास कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरे।
कार्यक्रममा उपप्रमुख मुना अधिकारीले विद्यालय जान नपाएका महिलाहरूका लागि अनौपचारिक शिक्षाको व्यवस्था गरिएको जानकारी दिँदै शिक्षालाई मन र दिमागबाट आत्मसात गरे सफलताको ढोका खुल्ने बताइन्।
जिल्ला समन्वय समितिका प्रमुख फुयाँलले गोदावरी नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा जिम्मा लिई संविधान कार्यान्वयनमा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरे। उनले गोदावरीलाई “देशकै शिक्षा हब” बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिंदै समिति मार्फत दीर्घकालीन सहयोगको प्रतिबद्धता जनाए।
नगर प्रमुख महर्जनले गोदावरी नगरपालिका जिल्लाकै पहिलो पालिका बनेकोमा खुसी व्यक्त गर्दै यस अभियानमा योगदान दिने सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गरे। उनले नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शिक्षाको गुणस्तरमा सुधार आएको पनि उल्लेख गरे।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख प्रकाश सापकोटा, नगर प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष मिलन सिलवाल, वडा नं ९ का अध्यक्ष आत्माराम थापा, महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख हेम कुमार श्रेष्ठ,विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ