काठमाडौं । गृहमन्त्री रमेश लेखकले भोटेकोशीमा आएको भिषण बाढीका कारण रसुवाको गोसाईकुण्ड गाँउपालिका– २ को रसुवागढीमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा बोल्दै गृहमन्त्री लेखकले रसुवा विपद्मा घटनामा हालसम्म नेपाल प्रहरीका २ जना, ११ जना सर्वसाधारण नेपाली एवं ६ जना चिनियाँ नागरिक गरी १९ जना बेपत्ता भएको बताएका हुन् ।
मन्त्री लेखकले बेपत्ताहरुको खोजी कार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताए ।
‘हालसम्म धादिङ्गस्थित त्रिशुली नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको २ वटा पुरुषको शव फेला परेको छ । रसुवा, धादिङ्ग र नुवाकोटमा गरी ३ वटा शरीरको अंग फेला परेको छ । नुवाकोट बिदुर नगरपालिका–३, शिरखाली नयाँ पुल स्थित त्रिशुली नदीको किनारामा दाँया खुट्टा नभएको अवस्थामा पुरुषको शव फेला परेको छ ।’ उनले भने, ‘धादिङ्गको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी स्थित त्रिशुली नदी किनारमा अन्दाजी ४०÷४५ वर्षका पुरुषको शव फेला परेको छ । भरतपुर नगरपालिका– २९ पन्ध्रकिलोस्थित त्रिशुली नदीको किनारमा ईलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरिक्षक लालबहादुर श्रेष्ठको शव फेला परेको छ ।’
मन्त्री लेखकले हालसम्म हवाई उद्दारबाट ३० जना नागरिकको सफलतापूर्वक उद्दार गरिएको जानकारी दिए ।
‘नुवाकोट बिदुर नगरपालिकाको इन्द्रेणीघाटमा किस्पाङ– ४ घर भई हाल बिदुर–९ बस्ने पाल्तेन तामाङ र निजकी श्रीमती मंगली तामाङ एकाबिहानै दाउरा खोज्ने क्रममा खोलाको किनारमा पुग्दा एक्कासी ठूलो बाढी आई खोलाको बीचमा फसेको अवस्था थियो ।’ उनले भने, ‘हाम्रा सुरक्षाकर्मीले ठूलो बहादुरीपूर्वक निज दम्पत्तीलाई हवाई उद्दारमार्फत् सुरक्षित स्थानमा पु¥याउन सफल भएका छन् ।’
संकटमा फसेका दुई जनाको जीवन उद्दार मात्र हैन विपद्मा परेका नागरिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको संचार गराएको उनको भनाई थियो ।
त्यसैगरी, स्थलगत उद्दारमार्फत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेको २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई सुरक्षाकर्मीको सयुंक्त टोलीले उद्धार गरेको छ । सोही घटनामा रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका चिनीया पुरुष– १ जना, नेपाली पुरुष–१५ जना र नेपाली महिला २ जना गरी जम्मा १८ जनालाई सकुशल उद्धार गरिएको थियो ।
नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको, सडक खण्डमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको छ ।
‘मानिस र सवारी साधन आवत जावत बन्द भएको अवस्था छ । सवारी साधनतर्फ सुख्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि राखिएका २३ वटा मालबाहक कन्टेनर ट्रक, ३५ वटा विद्युत्तीय गाडी र ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको छ ।’ मन्त्री लेखकले भने,‘रसुवागढी हाइड्रोपावरको ड्याम, त्रिशुली ३ बगाइलगेको र अन्य थप क्षतिको विवरण संकलन भईरहेको छ ।’
अकल्पनीय विपद्को सूचना प्राप्त भएपश्चात आफूले सुरक्षाकर्मीलाई परिचालित हुन निर्देशित गर्दै राजधानीबाट आवश्यक समन्वय, सहजीकरण र सहायतामा निरन्तर क्रियाशिल रहेको उनको भनाई छ ।
मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ