सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

गुरु पूर्णिमाको अवसरमा महाङ्काल माविका पूर्व शिक्षकहरू सम्मानित

प्रकाशित समय: बिहिवार, ०८ : ४६ बजे असार २६ गते



गुरु पूर्णिमाको अवसरमा महाङ्काल माविका पूर्व शिक्षकहरू सम्मानित

ललितपुर,गुरु पूर्णिमाको अवसरमा महाङ्काल पूर्व विद्यार्थी सङ्घ, गोटिखेल ललितपुरको आयोजनामा पूर्व शिक्षक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम ललितपुरको खुमलटारस्थित त्रिनिटी क्याफेमा आयोजना गरिएको थियो।

 

विक्रम संवत् २०१७ सालमा स्थापना भएको महाङ्काल माध्यमिक विद्यालयमा लामो समयसम्म सेवा पुर्‍याएका पूर्व शिक्षकद्वय श्री देवकुमार राई र श्री केशवराज रिजाललाई यस वर्ष विशेष गुरु सम्मान प्रदान गरिएको हो।

 

त्यस्तै कार्यक्रममा पूर्व शिक्षकहरू एक बहादुर भण्डारी, अर्जुन प्रसाद खरेल, हरि काफ्ले, रामबहादुर घिमिरे, सीताराम घिमिरे, उद्धप्रसाद पराजुली र नीलप्रसाद दुलाललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।

 

कार्यक्रममा पूर्व विद्यार्थीहरूले उहाँहरूलाई सम्मान गर्दै आशीर्वाद ग्रहण गरेका थिए।

 

संघका सचिव कमलप्रसाद तिमल्सिनाका अनुसार, संघले हरेक वर्ष गुरु पूर्णिमाको अवसर पारेर विद्यालयमा योगदान पु-याएका शिक्षकहरूलाई सम्मान गर्दै आएको छ। साथै, संघले सामाजिक सेवाका विविध कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिए।

 

कार्यक्रमको सभापतित्व संघका अध्यक्ष डा. लक्ष्मणप्रसाद घिमिरेले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि विद्यालयका पूर्व प्रधानाध्यापक श्री गोविन्दप्रसाद पराजुली हुनुहुन्थ्यो।

 

समारोहमा उल्लेखनीय संख्यामा पूर्व शिक्षक, पूर्व विद्यार्थीहरूको सहभागिता रहेको थियो। शिक्षकहरूका योगदानलाई स्मरण गर्दै उपस्थित सम्पूर्णले गुरुजनहरूप्रति श्रद्धा व्यक्त गरेका थिए।

 

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष नवराज महत, संस्थापक अध्यक्ष तथा सल्लाहकार रामशरण शर्मा घिमिरे, संस्थापक उपाध्यक्ष रविन्स शर्मा, संस्थापक सदस्य डिल्लीप्रसाद घिमिरे, महाङ्काल गाउँपालिकाका निवर्तमान अध्यक्ष रामचन्द्र दाहाल, वडा नं. ३ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोजकुमार पराजुली, सल्लाहकार एवं कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा लगायतका वक्ताहरूले गुरु पूर्णिमाको महत्व र गुरुहरूको अमूल्य योगदानबारे धारणा राखेका थिए।

 

कार्यक्रममा सम्मानित शिक्षक श्री केशवराज रिजालले महाङ्काल माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने दलित तथा जनजाति विद्यार्थीलाई पुरस्कृत गर्न रु २५,००० अक्षय कोष स्थापना गर्न चेक हस्तान्तरण गरे। उक्त कोषलाई थप सशक्त बनाउन अध्यक्ष डा. लक्ष्मणप्रसाद घिमिरे, सल्लाहकार होमप्रसाद घिमिरे, सल्लाहकार सूर्यप्रसाद घिमिरे र प्रमुख अतिथि गोविन्दप्रसाद पराजुलीले क्रमशः रु २५,०००, रु २५,०००, रु २५,००० र रु २५,१०० प्रदान गर्ने प्रतिबद्धता जनाए।

 

त्यसैगरी, अभिभावक सङ्घका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद शर्मा घिमिरेले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्राका लागि आफ्ना मातापिताको नाममा छुट्टै अक्षय कोष खडा गर्दै रु ३ लाख सहयोग गर्ने घोषणा गरे।

 

कार्यक्रम पूर्व शिक्षकहरूको सम्मान मात्र नभई भावी विद्यार्थीहरूका लागि प्रेरणा दिने अवसरसमेत बनेको सहभागीहरूको भनाइ थियो।