सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

गोदावरीमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन संवाद सम्पन्न

प्रकाशित समय: शुक्रवार, ०९ : ०४ बजे असार २७ गते



गोदावरीमा अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन संवाद सम्पन्न

ललितपुर, “आर्थिक विकास र साझेदारीको नयाँ यात्रा” भन्ने मूल नाराका साथ "गोदावरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन संवाद-२०८२" भव्य रूपमा सम्पन्न भएको छ। गोदावरी नगरपालिकाको सहकार्यमा मेड इन नेपाल एक्स्पो अस्ट्रेलियाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

गोदावरी नगरपालिकाको बज्रबाराही हलमा आयोजित कार्यक्रममा उपप्रमुख मुना अधिकारीले राजनीतिक नैराश्यता र वितृष्णाका बीच पनि स्थानीय सरकारद्वारा सञ्चालित तालिम गोष्ठीहरूले नगरका महिला उद्यमीहरूलाई आर्थिक रूपमा सबल बनाउँदै लगेको बताइन्। तर, उद्योगबाट उत्पादन भएका घरेलु तथा हस्तकलाका सामग्रीले बजार नपाउँदा उद्यमीहरू निराश बन्ने अवस्था रहेको भन्दै उनले अन्तर्राष्ट्रिय व्यापार प्रवर्धन संवादले यस्तो समस्या समाधानमा मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरिन्।

नेपाल–अष्ट्रेलिया साझेदारी सम्भावना विषयमा उद्यमी तथा नेपाल–अष्ट्रेलिया सम्बन्ध प्रवर्धक डीएन घिसिङले अष्ट्रेलियामा नेपाली उत्पादन सामग्रीहरू निर्यात गर्न लागु हुने मापदण्ड र नीति सम्बन्धी प्रस्तुति दिएका थिए। मेड इन नेपाल एक्स्पो अस्ट्रेलियाको अनुभव बाँड्दै उनले नेपाली उद्यमका लागि अष्ट्रेलिया एक सम्भावनायुक्त बजार हुन सक्ने बताए।

उद्यमी रचना श्रेष्ठले तालिममार्फत सिकेका सीपलाई प्रयोगमा ल्याएर गुणस्तरअनुकूल सामग्री उत्पादन गर्न सके विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने बताइन्। अर्का उद्यमी नारायण श्रेष्ठले नेपाली हेन्डिक्राफ्टको अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेकाले तीन तहका सरकारहरूको सहयोगबाट उत्पादन र निर्यात बढाउन सकिने धारणा राखे।

अन्तर्राष्ट्रिय बजार प्रवर्धक राजेन्द्र श्रेष्ठले नयाँ बजार र निर्माण सम्भावनाबारे प्रस्तुति दिएका थिए भने पर्यटन व्यवसायी दामोदर घिमिरेले हस्तकला उद्योगलाई संस्कृति र पर्यटनसँग जोडेर अगाडि बढाउनु पर्नेमा जोड दिए।

घरेलु तथा साना उद्योग कार्यालय प्रमुख सन्तोष मोक्तानले सरकारी सुविधाबारे जानकारी दिँदै उद्यमीले ती अवसरको उपयोग गर्न चासो देखाउनुपर्ने बताए। गोदावरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन महर्जनले सिप विकास तालिमको अभावका कारण दक्ष जनशक्ति नहुनु व्यवसायको प्रमुख चुनौती भएको बताए।

औद्योगिक व्यवसायी विकास प्रतिष्ठानका इन्जिनियर उमेश कुमार गुप्ताले स्टार्टअप, स्वरोजगार, र सरकारी कार्यक्रमबारे धारणा राख्दै प्रतिष्ठानले उद्यमीलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे।

कार्यक्रममा स्थानीय हस्तकला उद्यमीहरूले आफ्ना अनुभव, समस्या र सुझावहरू प्रस्तुत गर्दै खुला छलफलमा सहभागी भएका थिए।

नगर प्रमुख गजेन्द्र महर्जनले गोदावरी नगरपालिकालाई मेड इन नेपाल एक्स्पो अस्ट्रेलियासँग जोडेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने योजनाबारे बताए। उनले नगरपालिकाभित्र उत्पादन भएका सामानहरू बिक्री तथा निर्यात प्रवर्द्धनका लागि 'कोसेली घर' स्थापना गरिने जानकारी दिए। कोसेली घरमार्फत स्थानीय उत्पादनको प्रदर्शनी र निर्यात व्यवस्थापन गरिने उनले बताए।

नगर प्रमुख महर्जनले कार्यक्रमले संस्कृति, पर्यटन र उद्योगलाई एकसाथ अघि बढाउने अवसर प्रदान गरेको उल्लेख गर्दै, गोदावरी नगरभित्र उत्पादन हुने कुनै पनि सामग्री अब बेकार नजाने दाबी गरे। उनले सबै उद्यमीलाई यो अवसर सदुपयोग गर्न आग्रह गर्दै स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने यात्रा सुरु भएको बताए।

कार्यक्रमले अन्तर्राष्ट्रिय व्यापारमा स्थानीय तहको भूमिका र सम्भावनालाई उजागर गरेको निष्कर्षमा कार्यक्रम सम्पन्न गरिएको थियो।