सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

बागमती प्रदेश सरकारमा चार मन्त्रीको राजीनामा, कांग्रेसभित्र नेतृत्व परिवर्तनको संकेत

प्रकाशित समय: शुक्रवार, ०३ : ५३ बजे श्रावण १० गते



बागमती प्रदेश सरकारमा चार मन्त्रीको राजीनामा, कांग्रेसभित्र नेतृत्व परिवर्तनको संकेत

ललितपुर,बागमती प्रदेश सरकारमा चारजना मन्त्रीले एकैसाथ राजीनामा दिएपछि नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारभित्र ठूलो फेरबदलको संकेत देखिएको छ। राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्।

 

मन्त्रीहरूको राजीनामासँगै सत्तारूढ दल नेपाली कांग्रेसभित्र आन्तरिक सत्ता समीकरण फेरबदलको तयारी थालिएको छ। हाल मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिरहेका बहादुर सिंह लामा नेपाली कांग्रेस संसदीय दलका नेता हुन्। तर, पार्टीभित्र उनको नेतृत्वमा असन्तुष्टि बढ्दै गएपछि नेतृत्व परिवर्तनको केही महिनाअघिदेखि आन्तरिक छलफल सुरु गरिएको थियो।

 

कांग्रेसका एक नेताका अनुसार, बागमती कांग्रेस सभापति इन्द्र बानियाँ र हालका मुख्यमन्त्री लामाबीच अघिल्लो सहमति अनुसार प्रदेश सरकार 'आधा-आधा' अवधिमा सञ्चालन गर्ने सहमति थियो। उक्त सहमति अनुसार अहिले इन्द्र बानियाँलाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने तयारीका लागि मन्त्रीहरूलाई राजीनामा दिन लगाइएको हुन सक्ने विश्लेषण गरिएको छ।

 

प्रदेशसभामा नेपाली कांग्रेसका हाल ३७ जना सांसद छन्। तीमध्ये २५ जना प्रत्यक्ष निर्वाचनबाट र १२ जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन्। संसदीय दलको नेता चयन गर्न न्यूनतम १९ सांसदको समर्थन आवश्यक हुन्छ, जुन संख्या पार्टीभित्र इन्द्र बानियाँ पक्षले सुरक्षित गर्नसक्ने आकलन गरिएको छ।

 

मुख्यमन्त्री लामाको कामप्रति असन्तुष्टिका स्वरहरू पार्टीभित्रै तीव्र बनिरहेका बेला राजीनामा क्रम सुरु हुनु, नेतृत्व परिवर्तनको बाटो खुलाउने संकेतका रूपमा लिइएको छ। अब कांग्रेस संसदीय दलभित्रको बहुमतले नयाँ नेता चयन गर्ने सम्भावना बलियो बनेको छ, जस अनुसार बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने पक्कापक्की बनेको छ।