सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

ललितपुरमा नेपाल तरुण दलको अधिवेशनको तयारी तीव्र, अबको नेतृत्व कसको ?

प्रकाशित समय: आइतवार, ०५ : ५५ बजे श्रावण १२ गते



ललितपुरमा नेपाल तरुण दलको अधिवेशनको तयारी तीव्र, अबको नेतृत्व कसको ?

ललितपुर, नेपाल तरुण दलको अधिवेशन साउनभित्रै सम्पन्न गर्न केन्द्रीय कार्यसमितिले निर्देशन दिएसँगै ललितपुर जिल्लामा अधिवेशनको माहोल तातेको छ। अधिवेशनलाई समयमै सम्पन्न गर्न नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठसहित पार्टी पदाधिकारीहरूको उपस्थितिमा तरुण दलका जिल्ला अध्यक्ष, पदाधिकारी तथा तीनै क्षेत्रीय अध्यक्षहरूसँग छलफल सम्पन्न भएको छ।

 

जिल्ला सचिव दिनेश सञ्जेलका अनुसार, महाधिवेशन निर्देशनअनुसार ७१ वटै वडामा पूर्णकालीन सदस्य तथा साधारण सदस्यको फारम संकलन तीव्र गतिमा भइरहेको छ। साउन महिनाभित्र वडास्तरीय अधिवेशन, भदौ तेस्रो सातासम्म नगर, प्रदेश र क्षेत्रीय अधिवेशन, तथा असोजमा जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित कार्य अघि बढाइएको जिल्ला अध्यक्ष शिवराम महर्जनले जानकारी दिए।

 

अधिवेशन नजिकिँदै गर्दा जिल्ला नेतृत्वका आकांक्षीहरू सक्रिय बन्दै गएका छन्। 

 

गोदावरी नगरपालिका वडा नं. ३ का तरुण युवा ईश्वर सिलवाल, क्षेत्र नं. १ का तरुण दल क्षेत्रीय अध्यक्ष कमल तामाङ लो, जिल्ला सचिव दिनेश सञ्जेल र खेलकुद विकास समिति ललितपुरका अध्यक्ष विनोद महर्जनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

 

तरुण दलका एक जिल्ला सदस्यका अनुसार अन्तिम समयमा अन्य आकांक्षीहरू पनि मैदानमा उत्रन सक्ने सम्भावना छ। 

 

नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष द्वय संघीय सांसद उदय शमशेर राणा र राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत ललितपुरकै भएकोले पनि नेतृत्व चयनप्रति थप चासो बढेको देखिन्छ।