सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

प्रकाशित समय: बुधवार, ०५ : ३१ बजे श्रावण १५ गते



ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ विजयी भएका छन्। बुधबार सम्पन्न मतदानमा बानियाँले २२ मत प्राप्त गर्दै निवर्तमान नेता एवं मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गरेका हुन्।

कुल ३७ जना प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए। तीमध्ये बानियाँले २२ मत प्राप्त गर्दा लामाले १४ मतमा सीमित भए। एक मत बदर भएको जनाइएको छ ।

यो दोस्रोपटक बानियाँ र लामाबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको हो। यसअघि भएको प्रतिस्पर्धामा लामा विजयी भएका थिए। उनले २१ मत प्राप्त गरेका थिए भने बानियाँले १६ मतमा चित्त बुझाएका थिए ।

संसदीय दलको नेतृत्वमा परिवर्तनसँगै बागमती प्रदेशको राजनीतिक समीकरण फेरिने संकेत देखिएको छ। मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव र दलको नेतामा भएको परिवर्तनले नयाँ सत्ता गठबन्धनको ढोका खुल्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन् ।