ललितपुर, बागमती प्रदेशकी नवनियुक्त युवा तथा खेलकुदमन्त्री उर्मिला केसीलाई नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरले बधाई तथा सम्मान गरेको छ।
जिल्ला कार्यालय नखिपोटमा आयोजित कार्यक्रममा जिल्ला उपसभापति सुदर्शन घिमिरेले ललितपुरले दोस्रोपटक युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रीलाई बधाई दिए। वाग्मती प्रदेश कांग्रेसका सहमहामन्त्री ऋषिराम घिमिरेले निरन्तरको सामाजिक सेवा र राजनीतिक संघर्षकै परिणामस्वरूप केसी मन्त्री बन्न सफल भएको बताए। उनले यसअघि ललितपुरकै नेता पूर्वमन्त्री मिनकृष्ण महर्जनले छुट्याएको बजेट सफलतापूर्वक कार्यान्वयन हुने विश्वास पनि व्यक्त गरे।
कार्यक्रममा जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले केसीको लामो राजनीतिक यात्राको प्रसङ्ग उठाउँदै राजनीतिमा निरन्तर लागिरहे सफल हुने उदाहरण प्रस्तुत भएको बताए।
सो अवसरमा मन्तव्य राख्दै मन्त्री उर्मिला केसीले आफ्नो संघर्षपूर्ण यात्राको कारण आज यो स्थानमा पुग्न सफल भएको बताइन्। उनले महिला दिदीबहिनीलाई पनि सामाजिक तथा राजनीतिक यात्रामा निरन्तर अघि बढ्न आग्रह गर्दै "कार्यकर्ताको शिर कहिल्यै नझुक्ने गरी काम गर्ने" प्रतिबद्धता व्यक्त गरिन्।
उनले आफू यहाँसम्म पुग्नुमा नेपाली कांग्रेसका केन्द्रीय नेता, बागमती प्रदेशका मुख्यमन्त्री, पूर्व युवा तथा खेलकुद मन्त्री मिन कृष्ण महर्जन र जिल्लावासी नेता कार्यकर्ताको ठूलो हात रहेको भन्दै धन्यवाद व्यक्त गरिन्।
नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेकी मन्त्री केसी २०४२ सालको सत्याग्रहदेखि नै सक्रिय राजनीतिमा लागेकी हुन्। २०४६ को जनआन्दोलनमा समेत सक्रिय भूमिका खेलेकी उनी सो समयमा तेह्रथुमलाई आफ्नो राजनीतिक कर्मथलो बनाएकी थिइन्।
२०४४ मा नेपाली कांग्रेस तेह्रथुम जिल्ला कार्य समितिको कोषाध्यक्ष र महिला संघको सभापति बनेकी उनले करिब १६ वर्षसम्म महिला संघको नेतृत्व सम्हालिन्। आन्दोलनको क्रममा पटक–पटक गिरफ्तारीमा परेकी उनले २०६२/६३ को जनआन्दोलनका क्रममा थापाथलीमा भएको प्रदर्शनमा गोलीको जोखिम समेत व्यहोरेकी थिइन्।
२०७० सालमा धादिङ क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यका उम्मेदवार बने पनि विविध कारणले उनले उम्मेदवारी फिर्ता लिएकी थिइन्। पछि समानुपातिक सूचीमा नाम परे पनि सांसद बन्ने अवसर त्यतिबेला पाइनन्। तर २०७९ सालमा भने उनी कांग्रेसको समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।
उनी नेपाली कांग्रेसको १२ौं महाधिवेशनमा ललितपुर क्षेत्र नम्बर ३ बाट महासमिति सदस्य, १३ौं महाधिवेशनमा महासमिति सदस्य हुँदै १४औं महाधिवेशनमा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित भइन्।
तेह्रथुमबाट श्रीमानको जागिरको कारण ललितपुर बसाइँ सरेकी उनी करिब ३० वर्षदेखि सक्रिय राजनीतिमा संलग्न छिन्।
हाल ललितपुर क्षेत्र नं. २ अन्तर्गत महालक्ष्मी नगरपालिका–९ निवासी केसी हाल बागमती प्रदेशमा युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेकी छिन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ