ललितपुर,अपाङ्गता भएका व्यक्तिहरूका हकहित र अधिकारका लागि तीन दशकदेखि सक्रिय नेपाल अपाङ्ग महिला समाजले आफ्नो ३२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
२०५१ साल मंसिर ४ गते स्थापना भएको संस्थाले सचेतना अभियान, पुनस्थापनाका कार्यक्रम, अपाङ्गता न्यूनीकरण र व्यवस्थापनमा कार्य गर्दै आएको छ। यसले समान उद्देश्यका संघ–संस्थाबीच समन्वय गर्ने लक्ष्यसहित ललितपुरको गोदावरी नगरपालिका–३ धारापाटीस्थित १४ आना क्षेत्रफलमा बनेको आफ्नै भवनमार्फत सेवा प्रदान गर्दै आएको निर्देशक वशिष्ठकुमार अधिकारीले जानकारी दिए।
"अपाङ्गताको सवाल, हामी सबैको सरोकार" भन्ने मूल नाराका साथ सम्पन्न वार्षिक साधारणसभामा फिजियोथेरापी सेन्टरको उद्घाटन गरिएको थियो।
संस्थाका को–अर्डिनेटर सन्तोष बिष्टका अनुसार समाजले ललितपुरका सबै स्थानीय तहमा पुगेर अपाङ्गता अनुशिक्षण, सहायक सामग्री (ह्वील चेयर, वैशाखी, वाकर, कमोड चेयर) वितरण, बिउँ पुँजी हस्तान्तरण, सर्वेक्षण तथा आयआर्जन सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिविरसमेत सञ्चालन गरिएको उनले बताए।
थेरापी सेन्टरमार्फत हाल अल्ट्रासाउन्ड, टेन्स मेसिन, स्टेसरी बाइसाइकल, कर्नर चेयर, सोफ्ट बल, डम्बल सेट, फिजियो बल, सोल्जर ह्वील, एङ्कल एक्सरसाइजर, ह्यान्ड–फिङ्गर एक्सरसाइजर मेसिनलगायत उपकरण प्रयोग गरी सेवा लिन सकिनेछ। त्यस्तै, बौद्धिकदेखि जटिल अपाङ्गता भएका बालबालिकालाई दिवा सेवा केन्द्रमार्फत सेवा प्रदान हुँदै आएको छ। संस्था समुदायमा आधारित पुनस्थापना कार्यक्रम अन्तर्गतका सबै गतिविधि सञ्चालन गर्दै आएको छ।
सामाजिक विकास कार्यालय ललितपुरकी प्रमुख चन्द्रकुमारी व्यन्जनकारले कार्यालयमार्फत पाइने सेवा–सुविधाबारे जानकारी दिँदै अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार, उद्यमशीलता र स्वास्थ्य सेवामा सहज पहुँच भए जीवनयापन सहज हुने बताइन्।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अपाङ्गता भएका परिवारलाई जीविकोपार्जनका लागि अनुदान सहयोग गर्दै आएको जनाउँदै गत वर्ष मात्र करिब १३ लाख रुपैयाँ सहयोग गरिएको बताए। उनले आगामी दिनमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले अपाङ्गता भएका व्यक्ति र परिवारलाई उच्च मनोबल राख्न आग्रह गर्दै भने, “जति अधिकार हाम्रो छ, त्यति नै अधिकार तपाईँहरूको पनि छ। हाम्रो संविधानले संरक्षण गर्ने र अधिकार दिने जिम्मेवारी लिएको छ।” उनले स्थानीयदेखि सङ्घीय सरकारले बनाउने संरचनामा अपाङ्ग मैत्री संरचना अनिवार्य रहेको भन्दै निरन्तर सदन र अन्य माध्यमबाट ध्यानाकर्षण गराउँदै आएको बताए। साथै, उनले फिजियोथेरापी सेन्टरको स्थापना स्वागतयोग्य भएको भन्दै यसले शारीरिक र मानसिक रुपमा सुदृढ बनाउन सहयोग पुर्याउने भएकाले थप समर्थन गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रम नेपाल अपाङ्ग महिला समाज, ललितपुरकी अध्यक्ष रीता शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ