सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द हुने

प्रकाशित समय: शुक्रवार, ०७ : ०२ बजे आश्विन १७ गते



कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द हुने

ललितपुर,ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। असोज १७ गतेदेखि २१ गतेसम्म भारी वर्षाका कारण सडकमा जोखिम बढ्न सक्ने भन्दै सुरक्षाका दृष्टिले यस्तो निर्णय गरिएको हो।

 

 

जिल्ला प्रशासन कार्यालय, ललितपुरले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि २० गतेसम्म प्रदेशभर मनसुन सक्रिय रहने र उच्च मात्रामा वर्षा हुने सम्भावना रहेको उल्लेख छ। सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कान्ति लोकपथमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

 

 

असोज १७ देखि २१ गतेसम्म सडक जोखिम हुन नदिन ठुला सवारी आवागमन रोक लगाउने,सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न लगाउने,साना सवारी साधन (चार चक्कासम्म मात्र) तोकिएका समय अनुसार सञ्चालन गर्न पाइने भएको छ।

 

 

मकवानपुर जिल्ला हुँदै ललितपुर प्रवेश गर्ने सवारी: वागमती गाउँपालिका–२, ब्युँगाबाट बिहान ६ बजेदेखि दिउँसो १२ बजेभित्र,ललितपुर जिल्ला हुँदै मकवानपुर प्रवेश गर्ने सवारी: गोदावरी नगरपालिका–६, टिकाभैरवाबाट बिहान ६ बजेदेखि दिउँसो १२ बजेभित्र मात्र सञ्चालन गर्न पाइनेछ।

 

ठूला सवारी साधन (चार चक्काभन्दा बढी) पूर्ण रूपमा रोक लगाउने प्रशासनले बताएको छ।

 

जिल्ला प्रशासन कार्यालयले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गर्दै तोकिएको समय र स्थान पालना गर्न अनुरोध गरेको छ।