सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, २ माघ २०८२ / Thursday, 15 January 2026

ठूलादुर्लुङदेखि चापागाउँ बस चल्न सुरु

प्रकाशित समय: सोमवार, ०५ : २६ बजे आश्विन २० गते



ठूलादुर्लुङदेखि चापागाउँ बस चल्न सुरु

ललितपुर । ललितपुरको दुर्गम गाउँ भनेर चिनिने ठूलादुर्लुङसम्म बस सञ्चालनमा आएको छ। लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध भएको सडक मर्मतपछि अब यातायात सहज भएको हो।

 

गत असोज १८ गतेदेखि अविरल वर्षाका कारण लेले–चन्दनपुर हुँदै ठूलादुर्लुङ जाने सडक अवरुद्ध भएको थियो। पहिरोका कारण स्थानीय बासिन्दा, दूध तथा तरकारी ढुवानीमा कठिनाइ भएको थियो।

 

महाङ्काल गाउँपालिकाले डोजर परिचालन गरी ठोस्ने खोला, कतवन, उन्युचौर हुँदै चन्दनपुरसम्मको सडक हिजो सफा गरी सञ्चालनमा ल्याएको हो। सो सडक पुनः सञ्चालनमा आएपछि गोटीखेल बजारबाट दारपाखा हुँदै कतुनसम्मको सडक पनि सफा गर्ने कार्य जारी रहेको गाउँपालिका अध्यक्ष गणेश केसीले बताए।

 

उनका अनुसार केही समयभित्र उक्त खण्ड पनि सञ्चालनमा आउनेछ। साथै, चन्दनपुरबाट दुईवटा डोजर प्रयोग गरी ठूला दुर्लुङसम्मको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको वडा नं. ६ का वडा अध्यक्ष विनोद चौरेलले जानकारी दिए।

 

वडा अध्यक्ष चौरेलका अनुसार ठूला दुर्लुङबाट बागमती गाउँपालिका–गिम्दि जोड्ने सडकमा झरेको पहिरो पनि सफा गर्न डोजर पठाइएको छ।

 

सडक खुलासँगै दशैंमा रोकिएका यात्रुहरूको आवागमन सहज भएको छ भने दूध र तरकारी ढुवानी पनि सामान्य गतिमा फर्किएको छ।