सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, २१ कार्तिक २०८२ / Thursday, 06 November 2025

गोदावरी नगरपालिकाद्वारा नेपाल प्रहरीलाई मोटरसाइकल सहित विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

प्रकाशित समय: आइतवार, ०७ : ३३ बजे आश्विन २६ गते



गोदावरी नगरपालिकाद्वारा नेपाल प्रहरीलाई मोटरसाइकल सहित विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

ललितपुर,गोदावरी नगरपालिकाले नेपाल प्रहरीलाई विपद् व्यवस्थापनका १७ प्रकारका सामग्री हस्तान्तरण गरेको छ। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा सहयोग पु-याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो।

 

 

नगरपालिकाले महानगरीय प्रहरी वृत्त चापागाउँ, प्रहरी प्रभाग लेले र प्रहरी प्रभाग बाँडेगाउँलाई आवश्यक सामग्री प्रदान गरेको हो। ती प्रहरी कार्यालयहरू आन्दोलनका क्रममा पूर्णरूपमा जलेर नष्ट भएका थिए।

 

 

हस्तान्तरण कार्यक्रम नगरप्रमुख गजेन्द्र महर्जनले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको उपस्थितिमा ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीलाई सामग्री हस्तान्तरण गरेका हुन्।

 

 

नगरपालिकाले प्रदान गरेका सामग्रीहरूमा लेडर ग्लोब्स, कटन ग्लोब्स, टर्चलाइट, ब्याकबोर्ड, फ्लासलाइट, डाइनामिक रेस्क्यु रोप, साबेल, पिक, सेफ्टी भेस्ट, स्टेचर, प्राथमिक उपचार बाकस, रेनकोट, लाइफ रिङ, थ्रो ब्याग, सेफ्टी हेल्मेट र मेघाफोन माइक लगायतका सामग्री रहेका छन्। 

यसका साथै नगरपालिकाले तीनवटा बाइक समेत प्रहरीलाई उपलब्ध गराएको छ।

 

 

यसबाहेक, गोदावरी नगरपालिकाले प्रहरी वृत्त चापागाउँ पुनर्निर्माणका लागि नगद १० लाख रुपैयाँ सहयोग गरेको छ।

 

नगरप्रमुख महर्जनका अनुसार वडा नम्बर १, १४, २ ,३ र ४ले प्रहरी प्रभाग बाँडेगाउँ पुनर्निर्माणमा सहयोग गरिरहेका छन् भने वडा नम्बर ५, ६, १० र ११ ले प्रहरी प्रभाग लेले र प्रहरी चौकी चापागाउँ पुनर्निर्माणमा सहयोग गरिरहेका छन्।

 

 

नगरप्रमुख महर्जनले भने, “नगरवासीको शान्ति–सुरक्षाका लागि आवश्यक जस्तोसुकै सहयोग गर्न नगरपालिका सधैं तयार छ।”

 

 

यस अवसरमा एसएसपी बोगटीले अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको बताउँदै आन्दोलनका क्रममा क्षति भएका अधिकांश प्रहरी संरचना स्थानीय, समाजसेवी, व्यवसायी र जनप्रतिनिधिको सहयोगमा पुनःनिर्माण सम्पन्न भइसकेको जनाए। बाँकी स्थानहरूमा पनि पुनःनिर्माणको काम तीव्र रूपमा भइरहेको उनले जानकारी दिए।

 

 

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर जिल्ला असामान्य अवस्थालाई सामान्य बनाउने र शान्ति–सुरक्षा बहालीका दृष्टिले अन्य जिल्लाभन्दा अघि रहेको भन्दै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।

 

 

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष श्रीराज थापा, वडा नम्बर २ का मनोहर सिलवाल, वडा नम्बर ६ का विष्णुमान महर्जन, वडा नम्बर ९ का आत्माराम थापा, वडा नम्बर १० का शेखर न्यौपाने लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।