सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालद्वारा कांग्रेस कावा सभापति खड्कालाई ज्ञापनपत्र

प्रकाशित समय: सोमवार, ०७ : ५८ बजे पुष ७ गते



स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालद्वारा कांग्रेस कावा सभापति खड्कालाई ज्ञापनपत्र

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपालले नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै देशको शिक्षा प्रणाली, विद्यार्थी आन्दोलन र लोकतान्त्रिक मूल्य–मान्यतासँग सम्बन्धित विभिन्न गम्भीर विषयमा ध्यानाकर्षण गराएको छ।

 

 

परिषद्ले हाल देशमा देखिएको शिक्षा क्षेत्रमा बढ्दो अन्याय, असमानता र राजनीतिक हस्तक्षेपप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक मूल्य बोकेको पार्टीले यस विषयमा स्पष्ट र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

 

ज्ञापनपत्रमा संविधानले सुनिश्चित गरेको निःशुल्क तथा गुणस्तरीय शिक्षाको हक व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको छ। शिक्षा क्षेत्रमा निजीकरण हाबी हुँदै गएको, सार्वजनिक शैक्षिक संस्थाहरू कमजोर बन्दै गएको तथा गरिब, सीमान्तकृत र ग्रामीण भेगका विद्यार्थीहरू शिक्षा पहुँचबाट वञ्चित भइरहेको परिषद्को ठहर छ।

 

त्यसैगरी, परिषद्ले शैक्षिक संस्थाहरूलाई राजनीतिक भागबण्डा र हस्तक्षेपबाट मुक्त राख्न, स्वतन्त्र विद्यार्थी आन्दोलनको सम्मान गर्न तथा विद्यार्थी संगठनहरूलाई दमन गर्ने प्रवृत्ति तत्काल अन्त्य गर्न माग गरेको छ। शान्तिपूर्ण आन्दोलन र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कार्य लोकतन्त्रविरुद्ध भएको परिषद्को भनाइ छ।

 

ज्ञापनपत्रमा शिक्षा क्षेत्रमा देखिएको भ्रष्टाचार, अनियमितता र निर्णय प्रक्रियामा पारदर्शिताको अभावप्रति पनि गम्भीर आपत्ति जनाइएको छ। शिक्षा नीति निर्माणमा विद्यार्थी, शिक्षक र सरोकारवालाको सार्थक सहभागिता सुनिश्चित गर्न परिषद्ले कांग्रेस नेतृत्वलाई आग्रह गरेको छ।

 

परिषद् नेपालले नेपाली कांग्रेसलाई ऐतिहासिक जिम्मेवारी सम्झाउँदै लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशी शिक्षाको पक्षमा स्पष्ट अडान लिन आग्रह गरेको छ।

 

मागहरूलाई बेवास्ता गरिएमा सशक्त विद्यार्थी आन्दोलनमार्फत दबाब सिर्जना गरिने चेतावनी पनि परिषद्ले दिएको छ।

 

ज्ञापनपत्र बुझ्दै कांग्रेस कार्यवाहक सभापति खड्काले विषयवस्तु गम्भीर रहेको बताउँदै पार्टीभित्र छलफल गरी उचित पहल गर्ने आश्वासन दिएको परिषद्का अध्यक्ष रोहित कपालीले बताए।