ललितपुर,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जनसहितको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेपछि यस विषयलाई लिएर विभिन्न किसिमका चर्चा सुरु भएका छन्।
यसै सन्दर्भमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनसँग गरिएको कुराकानीमा उनले यसलाई नियमित कानुनी प्रक्रियाको रूपमा लिन आग्रह गरेका छन्। विशेष अदालतबाट सफाइ पाएपछि चित्त नबुझेको पक्षले माथिल्लो अदालतमा जाने अधिकार संविधानले सबैलाई दिएको उल्लेख गर्दै उनले अख्तियारले पुनरावेदन दायर गर्नु अस्वाभाविक नभएको बताए ।
“हामीले विशेष अदालतबाट सफाइ पाइसकेका छौं। त्यस फैसलाप्रति चित्त नबुझेपछि उपल्लो निकायमा जान पाउने अधिकार सबैलाई हुन्छ। अख्तियारले पनि सोही अधिकार प्रयोग गरेको हो,” नगरप्रमुख महर्जनले भने।
नगर प्रमुख महर्जनले गोदावरी नगरपालिकाले लगाएको कर निकासी कर भएको र मुद्दामा उत्खननको रुपमा ब्याख्या भएकाले यो नितान्त गलत भएको बताए।
उनले अदालतले आवश्यक ठानेको खण्डमा आफूहरू न्यायिक प्रक्रियामा उपस्थित हुन सधैं तयार रहेको स्पष्ट पारे। “अदालतले बोलाएमा हामी उपस्थित हुन्छौं। हामी न्यायिक प्रक्रियामा विश्वास गर्छौं,” उनको भनाइ छ।
नगरप्रमुख महर्जनले नगरबासीलाई ढुक्क रहन आग्रह गर्दै भोलि पनि विशेष अदालतबाट प्राप्त भएको जस्तै सफाइ पुनः प्राप्त हुने विश्वास व्यक्त गरे।
साथै, गोदावरी नगरपालिकाले गरेको विकास निर्माण र जनहितका कार्यहरूलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा भइरहेको भ्रामक प्रचारप्रति ध्यान नदिन नगरबासीलाई आग्रह समेत गरे ।
“हामी र हामीले गरेको विकासका कामविरुद्ध संगठित र लक्षित रूपमा विरोध भइरहेको प्रचारको पछि नलाग्न नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्दछौं,” नगरप्रमुख महर्जनले भने
नगरपालिकाले कानुन, विधि र पारदर्शिताको पालना गर्दै अघि बढिरहेको भन्दै उनले अन्तिम फैसला न्यायालयबाट आउने र त्यसलाई सबैले सम्मान गर्ने विश्वास व्यक्त गरे।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ