प्रकाश मिश्र
धनगढी । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण आक्रान्त बनेको सुदूरपश्चिममा प्रदेश सरकारले जनताप्रति जिम्मेवारी प्रस्तुत नगरेको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।
सङ्क्रमण तीव्र रूपमा फैलँदा पनि प्रदेश सरकारले कुनै जिम्मेवारी नलिएको भन्दै प्रदेश सरकारको आलोचना बढेको हो ।
भारतबाट आउनेहरूको उचित व्यवस्थापन र अस्पतालहरूमा भएको अक्सिजन अभाव पूर्तिका लागि कुनै ठोस कदम नलिएको गुनासो बढेको छ ।
पहिलो चरणको कोरोना कहरको समयमा पनि आलोचित बनेको प्रदेश सरकार यसपटक झनै आलोचित बन्न पुगेको छ ।
सुदूरपश्चिम प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले महामारीका बेला जनताको पक्षमा उभिएर भाइरस रोकथाम तथा नियन्त्रणमा लाग्नुपर्ने सरकार समस्याबाट बेखबर रहेको टिप्पणी गर्नुभयो ।
नेकपा (एमाले) कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य रतनबहादुर थापाले प्रदेश सरकार जनताको समस्यामा लाचार भएको आरोप लगाउँदै नाकाबाट भित्रिने नेपालीका लागि होल्डि¨ सेन्टर बनाएर केहीदिनको होल्डपछि परीक्षण गराइ सम्बन्धित पालिकामा पठाउने काम गर्नुपर्नेमा त्यो पनि नभएको बताउनुभयो ।
सरकारले तत्काल रोकथाम तथा न्यूनीकरणका लागि काम अघि नबढाए जनताले क्षमा नदिने भन्दै अक्सिजनको व्यवस्थासहितका आइसोलेशनहरुको व्यवस्थापनमा लाग्नुपर्ने सुझाव दिनुभयो ।
प्रदेश सरकारले व्यवस्थापन नगरेपछि अस्पतालहरूमा अक्सिजन र अक्सिजन सिलिन्डर सहयोग गरिरहेको ह्युमिनिटी फाउन्डेसनका सदस्य तथा पत्रकार दीर्घराज उपाध्यायले प्रदेश सरकारले जनताको लाश गन्ने काम मात्र गरेको आरोप लगाउनुभयो ।
प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भने प्रदेश सरकार नागरिकको समस्यामा गम्भीर भएर लागेको बताउँदै सरकार आफ्नै तरिकाले काम गरिरहेको जिकिर गर्नुभयो ।
राज्य जनताको अभिभावक भएको हुँदा आफ्ना नागरिकको समस्यामा सरकार गम्भीर छैन भन्नु हास्यास्पद भएको उहाँको भनाइ छ ।
मुख्यमन्त्री भट्टले आरोप लगाउनेहरू कहिल्यै नथाक्ने भएकोले आरोपहरू सुन्न भन्दा पनि काम गर्न लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ