सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

कोञ्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष कृषि तथा पशुपक्षी वर्षका रुपमा मनाउने

प्रकाशित समय: शुक्रवार, ०३ : १६ बजे असार ११ गते



कोञ्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष  कृषि तथा पशुपक्षी वर्षका रुपमा मनाउने

दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ लाई कृषि तथा पशुपक्षी वर्षका रुपमा मनाउने योजना अघि सारेको छ ।

 

‘कृषि, पर्यटन, संस्कृति, वातावरण र पूर्वाधारः सुशासन्युक्त, सभ्य र समृद्ध कोञ्ज्योसोमको आधार’ भन्ने नारालाई आत्मसात् गर्दै बिहीबार अध्यक्ष गोपीलाल सिङ्तानले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएका युवाहरुलाई लक्षित गरी कृषि र पशुपालनको क्षेत्रबाट स्वरोजगार बनाउने योजना अघि सारेको उहाँले बताउनुभयो ।

 

गाउँपालिकाका विकासको प्रमुख आधार नै कृषि तथा पशुपक्षी उत्पादनमा जोड रहेकाले यसलाई आधुनिकीकरण तथा व्यवसायी र बजारीकरण गर्न कृषि कर्ममा रु ३५ लाख र पशु विकासमा रु ६० लाख बजेट विनियोजन गरेको योजना सार्वजनिक गरिएको थियो । यसैगरी गाउँपालिकाले कोरोनाका कारण मृत्युवरण गरेकाका परिवारलाई कोष खडा गरी प्रतिपरिवार रु १० हजारसमेत सहयोग गर्ने नीति अघि सरेको छ ।

 

ठोस्नेखोला बेली ब्रिज र छ्योर्देन गुम्बा निर्माण, मबिर गुर्दुमथुम दलचोकी लिफ्टिङ खानेपानी र भेडेखर्क डोल फूलबारीडाँडा खानेपानी आयोजनामा समेत जोड दिने भएको छ ।

शङ्खुमा तरकारी सङ्कलन केन्द्र र दलचोकी भोटडाँडा क्वाकलिङ र कतुवन भञ्ज्याङबाट शङ्ख जाने सडक निर्माण गर्नाका साथै लामदुवाली झोपु तिप्चेखोला दोभान र श्री कृष्णप्रणामी मन्दिर जस्ता योजनाहरुका लागि गाउँपालिकाले पर्याप्त बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाका खाली जमीनहरुमा वृक्षरोपण गरिनाका साथै गाउँपालिकाका सामुदायिक वनलाई व्यवस्थित गर्न जडीबुटीलगायत आयआर्जनका विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपाध्यक्ष मिङ्मा लामाले रु ३३ करोड ३० लाख ७७ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।