सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

हाम्रो रहर समृद्ध गोदावरी नगर - मेयर गजेन्द्र महर्जन

प्रकाशित समय: मगलवार, ०३ : ४६ बजे कार्तिक १४ गते



हाम्रो रहर समृद्ध गोदावरी नगर - मेयर गजेन्द्र महर्जन

साहिला ताामाङ ललितपुर, १४ कात्तिक । राजधानीको मुटु काठमाडौंवाट दक्षिणी भेगमा अवस्थित १५ किलोमिटरको दुरीमा पर्ने गोदावरी नगरपालिकालाई आगामी पाँच वर्षभित्र ‘पर्यटन नगरी, समृद्ध गोदावरी’को रुपमा चित्रण गर्ने लक्ष्य लिएको सरोकारवालाहरुले बताएका छन् ।

भौगोलिक रुपले नगरका ८, ९, १२, १३ र १४ वडाले महानगरपालिकासँग तथा वडा नम्बर १ र २ ले महालक्ष्मी नगरपालिकाको सिमानासँग जोडिएका छन् । यसै गरी ५, ६ र ७ नम्बर वडा बाग्मती र कोञ्ज्योसोम गाउँपालिकाको सिमानासँग गाँसिएका छन् ।

अंग्रेजी अक्षरको सी आकारमा रहेको यस नगरपालिकालाई साँच्चिकै समृद्ध बनाउन यहाँका नगरका पदाधिकारी, वडा अध्यक्ष, समाजसेवी, वुद्धिजीवि, नागरिक समाज, शिक्षाप्रेमीलगायतका समुह लागिपरेका छन् । समृद्ध नगर निर्माणमा सर्वप्रथम यहाँका विभिन्न ठाउँलाई पर्यटनमैत्री क्षेत्र बनाउनु पहिलो कदम रहने उनीहरुको भनाई रहेका छन् ।

पर्यटन नगरी निर्माणमा यहाँका स्रोत साधनलाई सदुपयोग गरिने लक्ष्य उनीहरुको रहेको पाईन्छ । यस नगरभित्र पर्यटकीय क्षेत्रको रुपमा विभिन्न स्थान विस्तार गरिने योजना रहेको बताईएको छ । नगरभित्र अवस्थित गोदावरी क्षेत्रलाई पर्यटकीय स्थल विकासमा मजवुत व्यवस्थापन गरिने छ । यहाँ जम्मा १४ वटा वडा रहेका छन् ।

पर्यटकीय क्षेत्र विकासका लागि वडा नम्बर ३ मा अवस्थित गोदावरीे, २ नम्बर विशंखुनारायणस्थित कोटडांडा, ७ वडास्थित सुन्तलीडांडा, १० वडास्थित भांगावन, ५ वडास्थित मनकामना मन्दिर, १३ वडास्थित सन्तानेश्वर, १० वडास्थित बज्रवाराही मन्दिर, ६ नम्बर वडामा पर्ने टिकाभैरव मन्दिर लगायतका क्षेत्रमा गुरुयोजना लागु गरिने नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।

पर्यटकीय नगर बनाउन गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित सुन्तलीडांडामा काठमाडौंको मनमोहक दृश्य देखिने गरी भ्यू टावरको निर्माण गरिने उहाँको भनाइ थियो । यसै गरी वडा नम्बर १० मा पर्ने भाङ्गावनमा भ्यू टावर निर्माण गरिने छ ।

यस्तै काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि वडा नम्बर २ विशङ्खुनारायणस्थित कोटडांडामा भ्यूटावरको निर्माण गरिने लक्ष्य रहेको नगरप्रमुख मजर्हनले बताउनुभयो ।गोदावरी क्षेत्रमा पर्ने बनस्पति उद्यानलाई थप व्यवस्थित बनाउँदै पर्यटन आकर्षण केन्द्र विन्दुको रुपमा विस्तार गरिने प्रमुख महर्जनको भनाई रहेको छ । यहाँ पाउने हरेक प्राकृतिक स्रोत साधनलाई अझ बढी व्यवस्थित गर्दै लैजाने योजना रहेको छ ।

यहाँ आउने पर्यटकले मनमोहक प्राकृतिक दृश्य तथा जंगली जनावर एवम् चराचुरुंगीको समेत सजिलै अवलोकन गर्न सकिन्छ । यस्तै यहाँ रहेका विभिन्न किसिमका फूलहरुको समेत अवलोकन गर्न सकिन्छ । पर्यटक वृद्धिका लागि सुन्तलीडांडा तथा कोटडांडामा होमस्टेको अवधारणा ल्याइने उहाँको भनाई रहेको छ ।

यस क्षेत्रमा नयाँ निर्माण हुने संरचनाहरु पर्यटनमैत्रीको रुपमा विस्तार गरिने समेत उहाँले बताउनुभयो । विहानीको मिर्मिरे उज्यालोमा चियाको चुस्कीसँगै काठमाडौंको मनमोहक दृश्यलाई क्यामरामा कैद गर्न सकिने छ । यसै गरी सेता दाँतझैं टल्कने हिमालको समेत तस्वीर लिन सक्ने छ ।समृद्ध नगर बनाउन पर्यटनमैत्री नगरको विकास आजको आवश्यकता हो उहाँले भन्नुभयो ।

पर्यटन विकासले नै आम नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्ने उहाँको विश्वास थियो । यसै गरी झररुवासीस्थित सन्तानेश्वर मन्दिरलाई पर्यटकीय एवम् धार्मिक दृष्टिकोणले विकास गरिंदै लैजाने नगरउपप्रमुख मुना अधिकारीले बताउनुभयो ।

यसलाई पर्यटनको थप आकर्षणका लागि मिनी मोनोरेलको अवधारणा ल्याउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । धार्मिक दृष्टिकोणले बहुचर्चित यस मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न सकेमा यहाँका वासिन्दाहरुमा रोजगारी एवम् आर्थिक समृद्धि हुन सक्ने उहाँको धारणा थियो । यस मन्दिरमा पूजाआजा गर्नाले निःसन्तानले सन्तान प्राप्त गर्न सक्ने जनविश्वास रहँदै आएको पाईन्छ ।

वडा नम्बर ५ का अध्यक्ष मिलन सिलवालले यहाँ स्थापना गरिएको मनकामना मन्दिरलाई थप व्यवस्थित बनाएर पर्यटन क्षेत्रको रुपमा विस्तार गर्न सकिने औंल्याउनुभयो । उपत्यकाबाट नजीक स्थापित यस मन्दिरमा आन्तरिक एवम् बाह््य पर्यटकको आगमनले पर्यटन नगरी बनाउन थप मद्यत मिल्न सक्ने उहाँको धारणा रहेको थियो । यहाँ अवस्थित अर्काे ऐतिहासिक श्री तिलेश्वर मन्दिरको संरक्षण र सम्वद्र्धन गर्न सकेमा पर्यटन नगरी विस्तारमा थप बल पुग्न सक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस क्षेत्रमा आन्तरिक तथा बाह््य पर्यटकको आगमनलाई सजिलो बनाउन आवश्यक गृहकार्य गरिरहेको बताउनुभयो सिंगो नगरलाई समृद्ध तुल्याउन नगरप्रमुख तथा उपप्रमुखको मात्र जिम्मेवारी नभई वडा अध्यक्षहरुको पनि रहेको वडा नम्बर १३ अध्यक्ष भास्कर थापाको भनाई थियो । उहाँले समृद्ध नगर निर्माणमा समग्र नगरवासीले आ आफ्नो क्षेत्रवाट सहयोग गरिनुपर्नेमा जोड दिनुभयो  । समृद्ध नगर बनाउन कृषि, पर्यटन, पशुपालन, उद्योगलगायतका क्षेत्रको समेत विकास गरिनुपर्ने उहाँको तर्क थियो ।