सप्तरी, १० असोज ।सप्तरीमा पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी चिन्तित भएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारको छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको परिवारका सदस्यले बताए ।
शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।गत शुक्रबार विष्णुपुर गाउँपालिका–५ मा खेलिरहेका आजाद अलीका छोरा तीन वर्षीय रहमतको डुबेरै मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी छोरी पाँच वर्षीया शिवानीको गतबुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
महदेवा गाउँपालिका–४ परसाहीस्थित सार्वजनिक पोखरीमा मङ्गलबार भाँडा पखाल्न जाँदा अमृत सदाकी छोरी ३० वर्षीया लक्षनकुमारीको डुबेरै मृत्यु भएको थियोे । सोही दिन खड्ग नगरपालिका–८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् । सोही दिन तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो ।
योसमेत आव २०७८/०७९ मा सप्तरीमा पोखरीमा डुबेर मृत्यु हुनेको सङ्ख्या १५ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीमध्ये सात बालक, चार बालिकाका साथै दुई पुरुष र दुई महिला रहेका छन् । रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ