कपिलवस्तु, २९ कात्तिक।कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणको लागि मंसिरको पहिलो सातादेखि खोप लगाइने भएको छ । खुला दिसामुक्त उन्मुख कपिलवस्तुको पाँच स्थानीय तहमा १८ असोजदेखि फैलिएको हैजाले आधादर्जन मानिसको ज्यान गइसकेको छ ।
हैजाको जोखिम निरन्तर बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट उपलब्ध ‘ओरल कोलोरा भ्याक्सिन’ खुवाउने तयारी भएको हो ।कृष्णनगर नगरपालिकामा १८ असोजदेखि फैलिएको हैजा शिवराज नगरपालिका, महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकासम्म पुगेको छ । यी स्थानका एक वर्षदेखिमाथि उमेर समूहकालाई १४ दिनको फरकमा दुई पटक भ्याक्सिन खुवाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । ५ मंसिरमा यशोधरा गाउँपालिकाबाट हैजाविरुद्धको खोप अभियान सुरू गर्ने तयारी भइरहेको छ । बाँकी चार पालिकामा ७ मंसिरदेखि खोप अभियान सन्चालन हुनेछ ।
साढे दुई लाखलाई हैजाविरुद्धको खोप
विश्व स्वास्थ्य संगठनले पहिलो डोजको लागि दुई लाख ५२ हजार तीन सय ६३ भाइल खोप उपलब्ध गराउने भएको हो । खोप आइतबार नै काठमाडौं आइपुगेको छ । जिल्ला खोप समन्वय समितिको बैठक बसेर प्रभावित पालिकामा दिने कोटा समेत निर्धारण भइसकेको छ । कोटाअनुसार यशोधरा गाउँपालिकामा ३७ हजार सात सय ८३, महाराजगन्ज नगरपालिकामा ५३ हजार एक सय ५६, कृष्णनगर नगरपालिकामा ६० हजार सात सय ४३, शिवराज नगरपालिकामा ६४ हजार सात सय ७८ र विजयनगर गाउँपालिकामा ३५ हजार नौ सय तीन डोज खोप वितरण हुने स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए ।
शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी ६ दिनसम्म लगातार खोप अभियान सञ्चालन गर्ने समितिले निर्णय गरेको छ । प्रकोप फैलिएको पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसी खोप लगाउनेसँगै नियन्त्रणका योजना पनि बनाएको हैजा प्रभावित शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।
खोप लगाउन चुनौतिपूर्ण
हैजा प्रभावित क्षेत्रमा खोप खुवाउनु निकै चुनौतिपूर्ण रहेको छ । मधेसी समुदायको बाहुल्यता रहेका यी क्षेत्रमा स्वास्थ्य तथा सरसफाइलाई धेरै महत्व नदिने हुनाले खोप कार्यक्रम निकै चुनौतिपूर्ण हुने अनुमान छ । प्रभावित क्षेत्रमा खोप लगाउन प्रोत्साहन गर्न जिल्ला खोप समन्वय समितिले १४ योजना निर्माण गरेको जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद खनालले बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ