सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

कांग्रेस कैलालीको पालिका अधिवेशन मंगलबारदेखि सुरु हुँदै

प्रकाशित समय: सोमवार, ०६ : ४६ बजे कार्तिक २९ गते



कांग्रेस कैलालीको पालिका अधिवेशन मंगलबारदेखि सुरु हुँदै

धनगढी, २९ कात्तिक।नेपाली कांग्रेस कैलालीको १४औं महाधिवेशन अन्तरगत कैलालीमा कात्तिक ३० गते मंगलबारदेखि पालिका अधिवेशन सुरु हुँदै छ ।

 

क्रियाशील सदस्यता विवादका कारण पछाडि धकेलिएको कैलालीको अधिवेशन कात्तिक २५ गतेदेखि मात्रै सुरु भएको थियो । कात्तिक २५ गते कांग्रेसले कैलालीका १ सय २६ वटै वडामा वडा अधिवेशन उद्घाटन गरिएको थियो । सोमबारसम्म सबै वडामा नेतृत्व चयन भइसकेको जनाइएको छ । वडापछि मंगलबारदेखि हुने पालिका अधिवेशनका लागि सबै तयारी पुरा भएको नेपाली कांग्रेस कैलालीका महाधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारले बताए । पालिका अधिवेशनका लागि दुई हजार पाँच सय बढी क्षेत्रीय प्रतिनिधि छनौट भएका उनले बताए । ‘सबै वडाबाट प्रतिनिधिको संख्या आएको छैन,’ उनले भने,‘तर, दुई हजार पाँच सय बढीको संख्यामा प्रतिनिधि छनौट भएका छन् । उनीहरूले नै पालिकाको नेतृत्व चयन गर्ने छन् ।’

कांग्रेको पालिका अधिवेशनमा नगर तथा पालिका सभापतिका लागि क्षेत्रीय प्रतिनिधि छनौट भएको व्यक्ति मात्रै उम्मेद बन्न पाउँछन् भने सदस्यका लागि क्षेत्रीय प्रतिनिधि नभएको व्यक्तिले पनि उम्मेदवारी दिन पाउने व्यवस्था छ । तर, पदाधिकारी छनौटका लागि भने क्षेत्रीय प्रतिनिधिले मात्रै सहभागिता जनाउन पाउने व्यवस्था छ । ‘पालिका अधिवेशन सम्पन्न गर्नका लागि कांग्रेस कैलालीका सभापति नरनारायण शाह (मनु) को संयोजकत्वमा एक हजार पाँच सय एक सदस्सीय मूल समिति र ११ उपसमिति तयार गरिएको छ,’ संयोजक सुनारले भने,‘सबै पालिकामा तयारी पुरा भएको छ । मंगलबार १३ वटै पालिकामा अधिवेशन सुरु हुने छ ।’ 

उनका अनुसार कैलालीमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएसँगै पालिका र क्षेत्रीय अधिवेशनका लागि दौडधुप बढेको छ । पालिका अधिवेशनका लागि धमाधम उम्मेदवारी घोषणा गर्नेक्रम रहेको उनले बताए ।्पालिका अधिवेशनका लागि सोमबार सम्म कैलालीको धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकामा उम्मेदवारी घोषणा भइसकेको छ । धनगढी उपमहानगरपालिका नगर सभापतिमा वर्तमान नगर सचिव यज्ञराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् भने गौरीगङ्गा नगर सभापतिमा पहल चन्द र मोहन साउँदले उम्मेदवारी घोषणा गरेको प्रचारप्रसार संयोजक सुनारले बताए । ‘अन्य पालिकाको नेतृत्वका लागि पनि धेरै आकांक्षी रहेका छन्,’ उनले भने,‘तर बाहिर खुलेका छैनन् । उम्मेदवारी दिएपछि मात्रै थाहा हुन्छ ।’ 

कैलालीमा कात्तिक ३० गते मंगलबार पालिका अधिवेशन हुने छ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तालिका रहेको छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ ।