सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

गोदावरी नगरपालिकामा कार्यकारी प्रमुख पन्थीले गरे आर्थिक अनिमियतता प्रमाणसहित....

प्रकाशित समय: सोमवार, ०५ : २३ बजे माघ २२ गते



गोदावरी नगरपालिकामा कार्यकारी प्रमुख पन्थीले गरे आर्थिक अनिमियतता प्रमाणसहित....

ललितपुर,अहिले गोदावरी नगरपालिका दिनप्रतिदिन बिबादमा तानिन थालेको छ। जनताबाट निर्वाचित जनप्रतिनिधि भएपनि कर्मचारीको हालीमुहालीका कारण जनप्रतिनिधिहरुले जनताको काम र मन जित्न सकेका छैनन्।

 

यतिखेर जनताहरु भनिरहेका छन् जुन जोगी आएपनि कानै चिरेका यस्तो शब्द जनताहरुले किन प्रयोग गरिएका छन् ? यसको जवाफ न त जनप्रतिनिधिहरुले दिन सक्छन् या त कर्मचारीले?

 

यसको एकमात्र कारण गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थी रहेका छन्। साविक बज्रबाराही नगरपालिका रहँदा विवादित रहेका कार्यकारी प्रमुख दुईवटा नगरपालिका जोडिएर गोदावरी नगरपालिका बनेपछि नगरपालिकाको कार्यकारी प्रमुखको रुपमा जिम्मेवारी सम्हाली कार्यालयका कर्मचारीहरुसँग सेटिङ मिलाई आर्थिक लाभ लिँदै आएको नाम प्रकाशित नगर्ने शर्तमा नगरपालिकाका कर्मचारी बताउँछन्।

 

नगरपालिकामा मेयर उपमेयर सहितको कार्यपालिका हुँदाहुँदै कार्यकारी पन्थीले एकलौटी ढंगले निर्णय गर्दै सवारी साधन किनमेलमा समेत आर्थिक चलखेल गरेका छन्।

 

नगरपालिकाको लागि मोटरसाइकल खरीद गर्दा सामान्य टेन्डर आव्हान गरी Jagdamba motor private limited बाट टेन्डर भर्न लगाई सोहि कम्पनिबाट १० वटा मोटरसाइकल खरिद गरेको बिल नगरपालिकामा पेश गरेका छन्। २०२३६२/८१ भ्याटसहित जम्मा १७५८९९९/८१ मूल्यमा खरिद गरिएको प्रति मोटरसाइकलको मूल्य १७५९००/- परेको छ।

 

उपरोक्त मूल्य बजारमा सर्वसाधारणले खरिद गर्ने मूल्यभन्दा १०,०००/- बढी देखिएको छ। यसरी १० वटा बाइकको खरिदमा एक लाख रुपैयाँ चलखेल भएको देखिन्छ।

 

बाहिर विवाद भइरहेकै बेला नगरपालिकाको नियमित कार्यपालिका बैठकमा वडा नम्बर १३ का वडा अध्यक्ष भाष्कर थापाले गाडी र मोटरसाइकल कुन प्रक्रियाबाट खरिद भयो ? हामीलाई केहि जानकारी भएन ? भनी प्रश्न गर्दा गाडीको बिषयमा कार्यकारी पन्थी मौन बसे। मोटरसाइकल विषयलाई लिएर उनले जवाफ फर्काए- '१० वटा लिएर आउँदा जगदम्बा मोटर्स कम्पनीलाई २२ हजार रुपैयाँ घाटा हुन्छ भनेको छ। त्यसैले अहिले नौवटा लिएर आयौ।' यसो हुँदा थप १७५९००/-चलखेल हुने लागेको हो कि भन्दै बैठकमा उपस्थित सदस्यहरुले एकअर्कामा मुखामुख गरे।

 

नगरपालिकाको स्टोर निरीक्षण गर्दा नौवटा मोटरसाइकल मात्र पार्किङ गरेर राखेको थियो।

 

यतिमात्र नभई उनले स्थानीय जनताको घर निर्माण नक्सा पास गर्दा सव-इन्जिनियर सुरेश कार्कीसँग सेटिङ मिलाई प्रति नक्सापास पन्ध्रसय लिने गरेको स्थानीय बताउँछन्।

 

कार्यालय सहयोगि नियुक्ति गर्दा नगरपालिकाका एकाउन्टेन हर्कबहादुर शाहीसँग मिलेर ती सहयोगीसँग तीन महिना बराबरको तलब लिएको तथ्य समेत बाहिर आएको छ।

पछिल्लो समय नगरपालिकामा रहेका अमिन ओमप्रकाश जोशीको मिलोमतोमा जग्गाको अनियमित जग्गा प्लटिङ मार्फत ठूलो धनराशी लिएको खुल्न आएको छ।

 

उनीसँगै उप निर्देशक शन्त बहादुर बस्नेत, एकाउन्टेन हर्क बहादुर शाही, सव-ईन्जिनियर सुरेश कार्की, अमिन ओम प्रकाश जोशी मिलोमतोमा लाखौँको अनियमिता हुनेगरेको ती कर्मचारी बताउँछन्। नगरपालिकामा हुने गरेका काम कारबाही तथा आर्थिक चलखेल सम्बन्धि बैठक ललितपुरको थसिखेलमा रहेको रोयल फुड क्याफेमा हुने गरेको छ ।

 

मेयर र उपमेयरको काम कर्तव्यको गलत व्याख्या गर्दै कार्यकारीले नियम कानुनको समेत उल्लंघन गरेका छन्।

 

नगरपालिकामा यति हुँदासम्म निज कार्यकारी प्रमुख टेकराज पन्थीलाइ कारबाही नगर्दा गोदावरी नगरपालिका कै बेइज्जत हुने गरेको भन्दै अधिकांश वडाअध्यक्षहरुले उनलाई हटाउनुको विकल्प नरहेको बताएका छन्।