मिडिया सञ्चार डटकम, ललितपुर। राष्ट्रपति भण्डारीको पछिल्लो कदमलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संस्था रुष्ट बनेका छन्।
अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका तीन संसद्लाई प्रमाणीकरण नगरी केपी ओली सरकारले सिफारिस गरेका सांसद्लाई सिफारिसको कारबाही गरेको भन्दै नेपाल तरुण दलले बुधबार राष्ट्रपतिलाई संविधान पढ्न भन्दै राष्ट्रपति कार्यालयका कर्मचारी मार्फत संविधान बुझाएको थियो।
राष्ट्रपति भण्डारीको पछिल्लो कदम नसच्चिए चरम आन्दोलन गर्ने घोषणा गरेको तरुण दलले उक्त निर्णय तत्काल सच्याउन माग गर्दै जिल्ला जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन् ।
यसैबीच तरुण दल ललितपुरले पनि आज प्रमुख जिल्ला अधिकारी महादेव पन्त मार्फत राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ।
संविधानको धारा ८६ को उपधारा २ ख बमोजिम राष्ट्रिय सभाका लागि तीन सदस्य मनोनयनका लागि गरेको सिफारिसलाई बेवास्ता गर्दै असंवैधानिक तवरले गतिविधि अगाडि बढाई राष्ट्रपति आफै असंवैधानिक रुपमा सक्रिय हुन खोजेकोप्रति नेपाल तरुणदल घोर निन्दा र भर्त्सना गर्दछ।
राजनैतिक पूर्वाग्रह बाट ग्रसित भई दलीय घेराभित्र रहेर संविधानको संरक्षक ले नै संविधान विपरित कार्य गरेको भन्दै उक्त निर्णय तत्काल सच्याउन माग गर्दछ, अध्यक्ष शिवराम महर्जनद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ।
कार्यक्रममा गाउँ इकाइ सभापतिहरु, क्षेत्रीय सभापति, क्षेत्रीय कार्य समितिका पदाधिकारीहरु जिल्लाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
ज्ञापनपत्रको पूर्ण विवरण
नेपाली जनताले जहानियाँ राणा शासन , निर्दलीय र २३६ बर्ष निरंकुश राजतन्त्रको घोर कालरात्रीबाट देशलाई मुक्त गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने दिन सम्म आईपुुग्दा अनेकौ दुःख कष्ट र उतार चढाव व्यहोर्नु परेको यथार्थ कसैमा छिपेको छैन । जनताहरुले परिवर्तन गर्दै गर्दा सुख, समृद्धि, शान्ति र सुशासनको चाहना राख्नु स्वभाविक हुन्छ । राजनैतिक परिवर्तनको लामो काल खण्डलाई पार गर्दै जनताको आन्दोलनले आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निर्माण गरि नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवा ज्यूको नेतृत्वमा २०७४ साल मंसिरमा आएर स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफलता पूर्वक सम्पन्न भई संविधान कार्यावन्यनको मुख्य चरण पार भई संविधानको संरक्षण र जनताको समृद्धिको चरण अघि बढेको छ । यस अवस्थामा नेपाली जनताको सार्वभौम सत्ता सम्पन्न संबिधानको संरक्षण गर्दै मुलुकको बिद्यमान संबैधानिक ब्यवस्थाको परिधि भित्र रहेर नेपाली कांग्रसको नेतृत्वमा रहेको अघिल्लो सरकारले संबिधानको धारा ८६ को उपधारा २ को “ख” बमोजिम राष्ट्रिय सभाको ३ सदस्य मनोनयनका लागि गरेको सिफारिसलाई बेवास्ता गरि असंबैधानिक तवरले गतिबिधि अगाडी बढाई राष्ट्रपति आफै असंबैधानिक रुपमा सक्रिय हुन खाजेको प्रति नेपाल तरुण दल घोर निन्दा र भत्र्सना गर्दै राजनीतिक पूर्वाग्रहबाट ग्रसित भई दलीय आस्थाको घेरा भित्र बसेर राष्ट्रपतिलाई संविधान मिचेर कुनै पनि काम नगर्न चेतावनी दिन चाहन्छौ । संविधानको रक्षकले नै एउटा राजनीतिक पार्टीको सानो अध्यारो घेरा भित्र बसेर गरेका यस्ता खाले असंवैधानिक निर्णयहरु तुरुन्त सच्याउन नेपाल तरुण दल जोडदार माग गर्दछ । राष्ट्रपतिबाटै संविधानको मर्म विपरित गरिएका यस्ता गतिबिधि नसच्याए नेपाली युवाहरुको साझा दल नेपाल तरुण दल नेपाली जनताको ठुलो त्याग र बलिदान बाट प्राप्त वर्तमान संविधानको रक्षा र कार्यन्वयनका लागि जुनसुकै कदम पनि उठाउन बाध्य हुने चेतावनी यसै ज्ञापन पत्रका साथै वर्तमान संविधानको प्रति अध्ययनार्थ राष्ट्रपति ज्युलाई हस्तान्तरण गर्दछौँ ।
जय नेपाल ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ