महोत्तरी, १६ माघ ।महोत्तरीको भाङग्रे, झ्याउरेकी सन्तमाया तामाङलाई नजिकैको बजारसम्म जान पनि दुई घण्टा लाग्छ । बजारमा केही किन्न जानु पर्यो भने उनको जाँदा आउँदा कम्तीमा पनि चार घण्टा खर्च हुन्छ । मधेशमा घर भए पनि सन्तमायाका लागि यो ठाउँ निकै दुर्गम छ । उनी मात्रै होइन भाङग्रे, झ्याउरे, छोडके, चनौटे, गदीर्, काली खोला, पिपलदहलगायतका बासिन्दाहरू किनमेल गर्न बजार जाँदा सिंगो दिन माया मार्छन ।
यति मात्रै होइन सबै जना बजार जान नभ्याउने हुँदा बजार जाने मान्छेले घरघरमा पुगेर के ल्याउनु पर्छ भनेर सोध्ने गर्छन । बजार जाँदा पनि छिमेकीहरू मिलेर सँगै बजार जान्छन् । चारैतिर चुरे पहाडले घेरिएको यो ठाउँसम्म आवतजावत गर्ने मोटरवाटो छैन । बर्षा नहुँदा खोलाबाटै कहिलेकाही ट्रयाक्टरहरू जाने भए पनि अन्य बेला नाका बन्दी जस्तै हुन्छ । झट्ट सुन्दा मधेशको समथर भू–भागमा पनि यस्तो होला र भनेर आशंका हुनसक्छ । तर, देशकै सुगम नगरपालिका भनेर चिनिने महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १० र ११ का बासिन्दाले अझै पनि आधुनिकताको अनुहार समेत देखेका छैनन् ।
अचानक कोही बिरामी परे उद्धार गर्न समेत नसकिने स्थानीयको भनाइ छ । यहाँका कुनै पनि गाउँमा एम्बुलेन्स छैनन् त स्वास्थ्य चौकी नै छन् । विकट कर्णाली भनेर चिनिने यी गाउँहरूमा चट्टान र चुरेको कारणले वैकल्पिक सडक बनाउन समेत निक्कै कठिन छ ।गाउँको बीचमा एउटा विद्यालय छ । लक्ष्मी भाङग्रे, झ्याउरे माध्यामिक विद्यालय नामको यो विद्यालयमा दुई सय जना बालबालिका अध्यनरत छन् । तर, खोलाको बाटो हुँदै आवतजावत गर्नुपर्ने हँुदा बर्षायामको दुई महिना विद्यालमा विद्यार्थी नै भेटिदैनन् । विद्यार्थी मात्र हैनन आवतजावतको समस्याले शिक्षकहरू समेत नियमित विद्ययालय पुग्न नसक्ने प्रधानअध्यापक तिर्थराज गोले बताउँछन् ।
यी गाउँहरू १५ दिन अगाडिसम्म सूचना र सञ्चारबाट समेत बन्चित थिए । केही दिन अघि चुरे पहाडको उच्च ठाउँ चनौटेमा राखिएको नेपाल टेलिकमको टावरले सेवा प्रवाह गर्न थालेपछि सञ्चार सुविधा भने पुगेको हो । ‘ शहरमा रहेका छोराछोरीलाई फोन गर्न समेत दुई घण्टा हिडेर बजार जाने गथ्र्यौ, बल्ल मुक्ती पाएका छाँै ।’ छोड्केका वीरबहादुर लामाले भने ।महोत्तरीका यी गाउँ अन्य गाउँको तुलनामा विकट भए पनि पर्यटकीय सम्भावना भने प्रचुर छ । मधेशभित्रै अव्यवस्थित उच्च पहाडले यहाँ आउन चाहने पर्यटकलाई मनोरन्जन दिनसक्ने सम्भावना छ । चट्टान नै चट्टानको यो पहाडमा पुगेपछि यहाँको हरियाली जंगल र प्राचिन बस्तीहरूले मन प्रफुल्ल हुने बर्दिबास–१ का सुदर्शन काफ्लेले बताए ।
यी गाउँहरूलाई तत्कालिन माओवादीहरूले ‘जनयुद्ध’ हुर्काउने र मलजल गर्ने मुख्य थलो बनाएका थिए । भूमिगत माओवादीहरू संगठन विस्तार गर्नेदेखि लिएर पार्टीभित्रका गोप्य छलफल गर्न समेत यी गाउँहरू महत्वपूर्ण बनेको स्थानीय बताउँछन् । अहिले पनि खयरमारा माओवादी गढ नै मानिन्छ । विशेषगरी वडा नम्बर १० र ११ मा पर्ने यी गाउँमा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादीका उम्मेदवारहरू विजयी बनेका थिए ।
गहुँ, मकै, तोरी तथा पशुपालनवाट जिविकोपार्जन गर्दै आएका स्थानीयमा सिंचाइ अभावले धान खेती कमैले मात्र गर्छन । पशुपालन गरे पनि उत्पादन बिक्री नहुँदा समस्या हुने गरेको स्थानीयको भनाइ छ । ‘दूध बेच्नका लागि बजारसम्म लैजान सम्भव छैन, गाउँमा बिक्री हँुदैन,’ स्थानीय युवा इशारा लामाले भने ।
यी गाउँहरूमा ९८ प्रतिशत जनजाति मात्र बस्छन् । विशेषगरि लामा, तामाङहरूको बाहुल्यता रहेको छ । अझ अचम्मलाग्दो बिषय त के छ भने बर्षायाममा यहाँका बासिन्दा खोलाको वहाव घटबढ भैइरहने हुँदा बजारबाट फर्कने क्रममा जंगलमा नै बास बस्नु पर्ने हुन्छ । ‘खोला कम हुन्छ अनि विहानै घर जाने गर्छाै,’ स्थानीय शान्तिमायाले भनिन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ