सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

महाभारतमा इलाका प्रशासन कार्यालय ,जिल्लाको सुविधा गाउँमा पाए पछि स्थानीय दंग

प्रकाशित समय: बिहिवार, ०८ : ११ बजे जेठ १० गते



महाभारतमा इलाका प्रशासन कार्यालय ,जिल्लाको सुविधा गाउँमा पाए पछि स्थानीय दंग

काभ्रे । जिल्लाको विकट क्षेत्र डाँडापारीका बासिन्दाले जिल्लाको सुविधा गाउँमै पाए पछि दंग बनेका छन् । विहीवार महाभारत गाउपालिकको बनखुमा इलाका प्रशासन कार्यालय स्थापना भए सँगै नागरिकता तथा राहदानी बनाउनका लागि एक दिनको बाटो हिंडेर सदरमुकाम सम्म पुग्नुपर्ने समस्याको समेत अन्त्य भएको छ ।

 

महाभारत गाउँपालिकामा पहिलोपटक इलाका प्रशासन कार्यालय स्थापना भई सर्वसाधारणका लागि सेवा सुरु गरेको छ । महाभारत गाउँपालिकको वडा नंवर ६ बनखुको देवीटारमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।उक्त कार्यालयको आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी र काभ्रेका प्रमसख जिल्ला अधिकारी कृष्णवहादुर राउतले संयुक्तरुपमा उद्घाटन गरे ।

 

उनीहरुले वडा नं ६ का मकरवहादुर थिङकी वीस बर्षीया छोरी अनिता थिङलाई नागरिकताको प्रमाणपत्र दिएर सेवा शुभारम्भ गरेका थिए । इलाका प्रशासन कार्यालयबाट नागरिकता राहदानी र नाबालक बालबालिका परिचयपत्र वितरण हुनेछ कार्यक्रममा जानकारी गराइएको थियो ।

 

यस्तै इलाका प्रशासनले इलाकाभित्रका सबै सरकारी कर्मचारीको विवरण राख्ने, कुख्यात अपराधीहरुको सुची संकलन गरी कार्बाहीका लागि जिल्लामा पठाउने लगायतका काम गर्नेछ । हाल उक्त कार्यालयमा इलाका प्रशासन अधिकृत झपेन्द्र खरेलको नेतृत्वमा तीन जना कर्मचारी खटाइएको छ ।

 

इलाका प्रशासन कार्यालय स्थानासँगै स्थानीयबासीमा खुशीयाली छाएको छ । यसअघि २०६९ सालमा मंसिर ९ गते मन्त्रीपरिषद बैठकले डाँडापारिको घर्तिछापमा खानीखोला गाउँपालिकाका साविकका ३ गाविस र महाभारत गाउँपालिकाका सबै गाविसलाई हेर्ने गरी इलाका प्रशासन कार्यालय स्थापनाको निर्णय गरेको थियो । तर, कर्मचारी परिचालन नहुनुका साथै ठाउँसमेत अपायक भएपछि संचालनमा आउन सकेको थिएन ।

 

गत माघ २६ गते बनखुमै आयोजित कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले बनखुमै इलाका प्रशासन राखिने आश्वासन दिएका थिए । अहिले इलाका प्रशासन, गाउँपालिका र अस्थायी प्रहरी चौकीका लागि बनखुको देवीटारमै १६ रोपनी जग्गा उपलव्ध भएर काम सुरु भइसकेको छ ।

 

इलाका प्रशासन कार्यालय उद्घाटन कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, गाउँपालिका अध्यक्ष कान्छालाल थिङ, र उपाध्यक्ष चेतकुमारी माझीले मन्तव्य राखेका थिए । अध्यक्ष थिङले यसअघिका सिडिओले नचाहेकाले इलाका प्रशासन आउन नसकेको बताए ।

 

उनले अहिले पनि इलाका प्रशासन कार्यालय तथा गाउँपालिका कार्यालय टहरामै राख्नुपरेको, वडा सचिव नभएकाले जनप्रतिनिधिले नै कर्मचारीको काम गर्नुपरेको, कृषि तथा पशु लगायतका कार्यालयका कर्मचारी नआएको, इन्जिनियर नभएको लगायतका गुनासो गरे । जिल्लाबाट कर्मचारी पठाएको बताए पनि हाजिर हुन नआएकाले सेवा दिन असहज भएको पनि उनले बताएका थिए ।