डडेल्धुरा, १४ चैत।पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्। सोमबार प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन नहुन सकेको उनको भनाइ छ। उनले केही प्रदेशमा गठबन्धन भए पनि सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको बहुमत रहेकाले सरकारमा आफूहरू अटाउन नसकेको बताए। ‘हामीहरू सरकारमा नरहेर पनि साथ दिइरहेका छौं,’ उनले भने, ‘यदि गठबन्धन हो भने त सुदूरपश्चिममा कांग्रेस सरकारमा हुनु पथ्यो। प्रदेश सरकारमा कांग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको छ।’
सरकारमा रहेका दलबाट कांग्रेसलाई पेल्ने मात्र काम भएको उनले जिकिर गरे। ‘उहाँहरू र हाम्रो आवश्यकता भएको ठाउँमा मात्र गठबन्धन हुन्छ। चुनाव नजिकिँदै गर्दा पनि अहिलेसम्म छलफल वा वार्ता केही हुन सकेको छैन। गठबन्धन गरौं भनेर हामी कसको दैलोमा जाने ? त्यसैले हामीले जनतालाई कांग्रेस एक्लै चुनावमा जाने सन्देश दिएका छौं,’ उनले भने।
संस्थापन इतर पक्षका नेता हरिप्रसाद भट्टले अमरगढी नगरपालिकाको प्रमुखमा दिएको उम्मेदवारीको विषयमा बोल्दै उनले कांग्रेसको माध्यमबाट उम्मेदवारीको चाहना आउनुपर्ने बताए। केही दिनभित्र डडेल्धुराका पूर्वसभापति कर्ण मल्लसँग कुराकानी गरेर उनको चाहना के हो र के चाहन्छन् भनेर पार्टीले छलफल गर्ने उनी बताउँछन्।
प्रचण्ड ‘डरपोक’ नेता
बलायरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकाले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको बताए। ‘प्रचण्ड र माधवजीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं। कांग्रेस बलियो भयो भने नेपालमा कम्युनिष्ट एक हुने चलन हो,’ उनले भने, ‘कांग्रेस बलियो हुँदा मिल्नु हुन्छ। सत्तामा खान र लुट्न झगडा हुँदा फेरि मिल्नुहुन्छ।’ नेपालको राजनीति ध्रुवीकरण हुनुपर्ने र एउटा कम्युनिष्ट र एउटा कांग्रेसको मोर्चा हुनुपर्नेमा उनले जोड दिए। कांग्रेसले मजबुत बनाएको देशको ढुकुटी कम्युनिष्टले रित्याएको बताउँदै उनले देशलाई तहसनहस बनाएको आरोप लगाए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ