नुवाकोट, घरघरमा मात्रै मनाउदै आएको साउने संक्रान्तिको लुतो फाल्ने परम्परा नुवाकोटमा सामुहिक र औपचारिक कार्यक्रम बनेको छ । पञ्चकन्या गाउँपालिका वडा नं. ३ देउरालीमा साउन १ गते राती औपचारिक कार्यक्रमको आयोजना गरि गाउँलेहरुले लुत्तो फालेका छन् ।
स्थानीय राम थापा, केदार थापा, मिनबहादुर थापा, रघु बुढाथोकी लगायतले कार्यक्रमको आयोजना गरेका हुन् । नेपाल पत्रकार महासंघका अध्यक्ष कपिलदेब खनालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा लुतो फाल्ने परम्पराको चर्चा हुनुको साथै नयाँ पुस्ताले बिर्सन थालेकोमा चिन्ता व्यक्त भएको छ । पहिलो पटक गाउँलेहरुले सामुहिक रुपमा लुतो फालेर परम्परा संरक्षणका लागि प्रयास गरेका छन् ।
कार्यक्रमको व्यवस्थापन र संयोजन गरेका राम थापा यो पर्व कृषकहरुका लागि महत्वपूर्ण रहेको बताउछन् । ‘अब त यस्तो बेला आयोकी, अहिलेका पुस्तामा कि त यो परम्पराको बारेमा जानकारी छैन, कि त लुतो फाल्दा पु¥याउनु पर्ने विधि र सामाग्रीको बारेमा जानकारी छैन, थापा भन्छन्– त्यही भएर औपचारिक रुपमा यो पर्वलाई हामीले मनाउने प्रयास गर्यौ ।’ त्यसो त साउने संक्रान्तिलाई लुतो फाल्ने दिनको रुपमा मात्रै पनि हेरिएको छैन ।
सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले साउन १ गतेको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथन अनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ मिठा मिठा परिकार खाने गर्छन् । वर्खाभरी हिलो र पानीमा डुकेको कृषहरुले यो रातमा विभिन्न औषधि मिसिएको जडीबुटी बालेको आगो तापेर आफुलाई स्वस्थ्य राख्ने प्रयास गरेको केदार थापा बताउछन् ।
‘लुतो फाल्नका लागि तयार गरिएको दाउरा र आगोमा पनि विशेष शक्ति हुन्छ, उनी भन्छन्– त्यस बेलामा विभिन्न जडीबुटीहरु बालिएको हुन्छ, जुन छालाका लागि राम्रो हुन्छ ।’ पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पछि पञ्चकन्या गाउँपालिका वडा नं. ३ को यो देउराली गाउँमा सामुहिक रुपमै लुतो फ्याक्ने संस्कृृति मनाइएको छ ।
यो औपचारिक कार्यक्रममा पत्रकार महासंघ नुवाकोटका अध्यक्ष सहितका अन्य पत्रकारहरु, नुवाकोट बार एशोसियसनका अध्यक्ष देवराज कँडेल लगायतका अतिथिहरुको सहभागिता थियो । अध्यक्ष खनालले मासिदै गएको यो परम्पराको संरक्षण सामुहिक रुपमा ग्रहण गर्नका लागि देउरालीबासीले देखाएको तत्पर्ताको प्रशंसा गरे ।
संस्कृति संरक्षण आर्थिक रुपमा र त्यसको प्रक्रृयाका कारण बोझिलो बन्दै गएकोले मासिने संकट आएकोले बरु केही परिकृत गरेर परम्परा धान्न सुझाव दिएका छन् । परम्परा अनुसार भलायोको अगुल्टोलाई आकासमा टुन्क्याएर लुतो फल्ने दिनका रुपमा मनाइँदैछ । भलायो र कुकुरडाइनो नामको जडिवुटी र वनस्पतिको अगुल्टो बनाई लुतो फाल्ने चलन छ । परम्परालई विश्वास गर्ने हो भने गाउँ छिमेकवाट भूतप्रेत हटाउन पनि यो दिन अगुल्टो टुन्क्याइने गरिएको हो । जानकारहरुकै अनुसार पनि रोपाइँ सकिएर झारपात टिप्न खेतवारीमा पस्दा छाला सम्वन्धी रोग नलागोस् भनेर भलायो टुन्क्याउने चलन छ ।
सोही क्रममा साँझ लुतो, दाद आदि छाला सम्वन्धि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहदै आएको छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छाला सम्वन्धि रोगबाट जोगिन लुतो फाल्ने प्रचलन स्वरुप यो पर्व मनाउन थालिएको हो । प्राचीन प्रचलन अनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि औषधि र फलफूलको पुजा गरिन्छ ।
त्यसको साथमा कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।
तर हिजोआज यि सरदमहरु जुटाउन मुस्किल हुने गरेको यहाँका पाका व्यक्ति मिनबहादुर थापा बताउछन् । साउने संक्रान्तिलाई नेपाली हिन्दुधर्मालम्बीहरुले पर्वहरुको ढोकाको रुपमा समेत लिने गरेका छन् । साउने संक्रान्तिपछि हिन्दु धर्मालम्बीहरुको चाडपर्व सुरु हुने गरेको छ
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ