सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

अहिलेसम्म राहत पाएनन् पहिरोपीडित बाग्मतीका थर्वानन्दले !

प्रकाशित समय: मगलवार, ०८ : १६ बजे श्रावण १५ गते



अहिलेसम्म राहत पाएनन् पहिरोपीडित बाग्मतीका थर्वानन्दले !

ललितपुर,वाग्मती गाउँपालिका वडा नम्बर ५ इकुडोल निवासी धर्वानन्द घिमिरेले अहिलेसम्म कहीँ कतैबाट राहत पाएका छैनन्।

 

साउन ६ गते राती परेको अविरल बर्षाका कारण घर माथिबाट आएको पहिरोले दुई घर गोठ लैजाँदा उनीसहित ११ जनाको परिवार घरबारविहिन भएका छन्।

 

पहिरोका कारण एक गाई, एक हल गोरु र ३ बाख्रा पहिरोले लगेको छ। यति मात्रै नभई घरमा रहेका अन्नबाली, लत्ता कपडा, गहना र नगद पैसा समेत पहिरोले लगेको घिमिरेले बताए।

 

राति परेको वर्षाले पहिरो जाँदा उनको करिब ३३ रोपनी जग्गासमेत पहिरोमा परिणत भएको छ। २०७२ वैशाखको भूकम्पमा दुई वटा घरगोठ गुमाएका घिमिरेले भर्खरै बनाएको भूकम्पप्रतिरोधी एक कोठे एक भवन र दुई कोठे एक भवन समेत काम नलाग्ने अवस्थामा पुर्याएको घिमिरेले बताए।

 

घिमिरे परिवार अहिले छिमेकीको शरणमा बसेका छन्। गाउँपालिका, जिल्ला प्रशासन कार्यालय कहीँ कतैबाट राहत नपाएका घिमिरे परिवार राहतको प्रतिक्षामा छन्।

 

करिब ६० लाख बराबरको धनमाल सम्पत्ति गुमाएका घिमिरेको आखाँ अहिलेपनि रसाएका देखिन्छन्।

 

वाग्मती गाउँपालिकामा रहेको विपत व्यवस्थापन समितिका संयोजकसमेत रहेका वडा नम्बर ५ का वडा अध्यक्ष साजन दर्लामिले आफू पिडितको घटनास्थल नपुगेको भएपनि सर्जमिन मुचुल्का लगायतका काममा घिमिरे परिवारलाई सघाएको बताए।

 

उनले विपद् व्यवस्थापन समितिले घिमिरे परिवारलाई २५ हजारसम्म मात्र सहयोग गर्नसक्ने र सोभन्दा माथिको मापदण्ड नै नभएको बताए।

 

पहिरोपीडित घिमिरे परिवारको पुनःस्थापनाका लागि पहल भइरहेको वाग्मती गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद तिमल्सिनाले बताए।

 

पहिरोपीडित परिवारलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले सम्पर्क गर्न सक्नुहुनेछ।

९८४९६४०३५१