सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

धनुषाको सात वडामा कांग्रेस विजयी

प्रकाशित समय: सोमवार, ०९ : ५१ बजे जेठ २ गते



धनुषाको सात वडामा कांग्रेस विजयी

जनकपुर, २ जेठ।धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक/एक स्थानमा विजयी भएका छन् ।

 

कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ ।

 

एकीकृत समाजवादीले जनकनन्दनी गाउँपालिका–१ र मिथिला नगरपालिका–१ को वडाध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले कमला नगरपालिका–१ र तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्ष जितेको छ ।जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्रकुमार साह २७६ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

 

यस्तै जनकपुरधाम उपमहानगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मत प्राप्त गरी विजयी भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २९५, एमालेका सन्तोषकुमार साहले १५७ मत प्राप्त गर्नुभएको छ ।

 

यसअघि जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव (दिपु) विजयी भएको थियो । यस्तै धनुषाको मिथिला नगरपालिका–२ मा एकीकृत समाजवादीका बिहारी महतो एक हजार १२९ मत प्राप्त गरी विजयी भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांंग्रेसका उम्मेदवार मनोजकुमार सिंहले ९९३ मत ल्याउनुभएको छ ।

 

धनुषाको मिथिला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७६५ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतो ६५८ मत प्राप्त गर्नुभयो । धनुषाको मिथिला –२मा एकीकृत समाजवादीका बिहारी महतो एक हजार १२९ मतका साथ विजयी हुनु भएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिनुभयो ।

 

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार सिंहले ९९३ मत प्राप्त गर्नुभयो । धनुषाधाम १ को वडाध्यक्षमा कांग्रेसका विश्वनाथ यादव ६०८ मतका साथ विजयी हुनुभएको छ । धनुषाको मिथिला बिहारी –१ को वडाध्यक्षमा कांग्रेसका रामसोभित दाहा विजयी हुनुभएको छ ।

 

धनुषाको बटेश्वर गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका अशोककुमार महतो ५५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामअशिष महतोले ३९० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत उद्धव ढोडारीले बताउनुभयो ।

 

धनुषाको कमला नगरपालिका–१ को वडाध्यक्षमा माओवादीका सर्वदेव यादव निर्वाचित हुनुभएको छ । स्थानीय तह निर्वाचनको जारी मतगणना अनुसार यादवले ९९१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकुमार यादवले ५६५ मत प्राप्त गरेको जनाएको छ ।

 

त्यस्तै धनुषाको सबैला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका मिथिलेश साह निर्वाचित हुनुभएको छ । धनुषाको जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एकीकृत समाजवादीका सन्तोष गोइत निर्वाचित हुनुभएको छ ।

 

उहाँले ४१२ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिनुभयो ।