बुटवल, ३ साउन।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ । सोमबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार एमाले जनप्रतिनिधिले उठाएका विषयगत समिति गठनलाई पनि बजेटसँगै कार्यसूचीमा राखिने छ ।
सहमतिपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला पनि खुलाइएको छ । मंगलबार बस्ने नगरसभा बैठकबाट एमाले जनप्रतिनिधिले उठाएका विषय पनि कार्यसूचीमा राखेर छलफल गर्ने र बजेट पनि पारित गर्ने सहमति भएको हो ।
तिलोत्तमा नगरपालिकामा कांग्रेस र एमालेबीच विवादले बजेट पारित हुन सकेको छैन । विवाद बढ्दै जाँदा प्रहरीले समेत हस्तक्षेप गर्नुका साथै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा-४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्विमिङ पुलमा धकेलिदिएपछि विवाद झनै उत्कर्षमा पुगेको थियो । स्विमिङ पुलमा धकेलेको भिडियाे सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।
आइतबार नगरप्रमुख रामकृष्ण खाँणले गणपूरक संख्या नपुगेको भन्दै नगरसभा बैठक स्थगन गरेका थिए । एमालेका जनप्रतिनिधिले आफूहरू उपस्थित भए पनि हाजिर गर्न नदिएर बैठक स्थगन गरिएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।उनीहरूले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले आफूहरूलाई हाजिर गर्न नदिएको आरोप लगाउँदै हलभित्र थुन्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
आइतबार एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए । सोमबार वडाध्यक्षलाई स्विमिङ पुलमा धकेल्ने बुटवलका डीएसपी ठगबहादुर केसीलाई कारबाही माग गर्दै प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको थियो ।३१ असारमा बसेको नगर सभा पनि गणपूरक संख्या नपुगेको भन्दै नगरप्रमुख खाणले स्थगन गरेका थिए । कांग्रेसले न्यायिक समितिका तीन सदस्यमध्ये एक सदस्य आफूले पाउनुपर्ने बताएको थियो ।
एमालेले नगरसभाबाट निर्णय गराएर तीनै सदस्य आफूले राख्न चाहेको थियो । तिलोत्तमामा मेयर कांग्रेसले जिते पनि नगरसभामा एमालेको बहुमत छ । न्यायिक समितिको एक सदस्यको विवाद नमिल्दा बजेट पारित हुन नसकी झडपसम्मको अवस्था आएको थियो । सहमतिपछि कांग्रेसले न्यायिक समितिको एक सदस्य पाउने भएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ