धनगढी, १६ भदौ । सुदूरपश्चिममा गौरा पर्व सुरू भएको छ । भाद्र कृष्ण पञ्चमी तिथिबाट सुरू हुने यो पर्वको पहिलो दिन बिरुडा (पाँच प्रकारका अन्न तथा दलहन) भिजाइन्छ । जसका लागि गौरा थापना हुने मुख्य घरमा छुट्टाछुट्टै घरबाट ल्याइएका पाँच प्रकारका अन्न तथा दलहन भिजाइने गरिन्छ । आजको दिन अन्य घरहरूमा समेत बिरुडा भिजाइन्छ ।
पञ्चमी तिथीमा भिजाइने बिरुडालाई षष्ठी तिथीका दिन पखालेर पूजा गरिन्छ र प्रसाद तथा अक्षताका रुपमा प्रयोग गरिन्छ । विधिअनुसार नै सप्तमीका दिन गौरालाई खेतबाट गौराघर तथा मन्दिरसम्म भित्र्याइन्छ । सप्तमीका दिन साउँ (धान रोपेको खेतमा पाइने एक प्रकारको वनस्पति)सँगै गर्जो, तितेपाती, बलुलगायतका वनस्पतिबाट पार्वतीको प्रतिकको रुपमा गौराको मूर्ति बनाएर गौरालाई गौरा घर वा मन्दिरमा भित्र्याउने चलन छ ।
अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मांगल गानका साथमा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ । त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका गीतका साथमा नचाइने गरिन्छ । यसै दिनदेखि ठाउँठाउँमा रातमा मात्रै डेउडा समेत खेलिने प्रचलन छ । सप्तमीमा भित्र्याइएको गौरा प्रतिकलाई कम्तीमा पाँच रातसम्म राख्ने गरिन्छ । सो अवधिमा सुदूरपशिचमका गाउँ, टोल तथा शहर देउडामय बन्छन् ।
सो क्रममा गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ । भाद्र कृष्ण पक्षको सप्तमीका दिन भित्र्याइने गौराले सुदूरपश्चिमका गाउँवस्तीमा भदौमा रौनकता थपिने गर्छ । सप्तसती देवीले दक्षको अग्नी कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह बिसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता पनि छ । त्यहीअनुसार गौरामा धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रुप बनाइ पूजा गर्ने परम्परा छ ।
यसरी गौरा देवीको पूजाआजा गर्दा विवाहित महिलाले पतिको दीर्घायूका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । यस पर्वमा महिलाले एक वर्षका लागि ‘दुब–धागो’ (धागोमा सात गाँठा बनाएको एक प्रकारको महिलाले लगाउने माला) लगाउने चलन छ ।
गौरापर्व डोटी, डडेल्धुरा, बैतडी र दार्चुलामा सबैभन्दा बढी र अछाम, बझाङ, बाजुरा, कैलाली तथा कञ्चनपुरको विशेष ठाउँमा मनाउने गर्छन् । ‘गौराको व्रत बस्दा मनमा शान्ति हुनुका साथै पतिको आयू लामो हुन्छ भन्ने विश्वास यस क्षेत्रका बासिन्दा गर्छन्
मौलिकता जोगाईराख्ने पर्व गौरा
सामान्यतया गौरा पर्वको तयारी भाद्र कृष्ण पञ्चमी वा श्रावण शुक्ल पूर्णिमाका दिनदेखि सुरू हुन्छ । यस वर्ष भदौ कृष्ण पञ्चमीदेखि गौरा पर्व सुरू भएको हो । गौराका फागमा पूर्वीय मान्यता अनुरूपको वैदिक सामाजिक परम्परामा पाइने मानवीय गतिविधिको चित्रण मनग्य रूपमा पाइन्छन् । जेठी गौरा र महेश्वरलाई भित्र्याएदेखि पूजा सुरू हुने अवधिसम्म सबै व्रतालु पूजा गरिने घरमा जम्मा हुन्छन् । दिनभरि व्रत बसेर रातिमात्र खाना खाने यस दिनका व्रतालुहरू भोजनोपरान्त फेरि गौरा राखिएको घरमा भेला हुन्छन् ।
उगाण उगाण इजू रूपाइका दुवार ।
उगाण उगाण इजू सुनैका केवाड ।।
गावको मजेली इजू बत्ती जगाइदिय ।
आजको दिन नाच इजु रनझनिया ।।
इति क्या उजालो भयो रनझनिया ।
कि त बाबु लोली गौरा रनझनिया ।।
तम घर आइन कि हो रनझनिया ।
तिर्तियैका दिन इजू विरुडि खोजाया ।।
चौथियैका दिन इजू विरुडि निकेया ।
पञ्चमीका दिन इजू विरुडि भिजाया ।।
षष्ठीका दिन इजु विरुडि धोएया ।
सप्तमीका दिन इजू म माइत बोलाय ।।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ