सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २६ जेठ २०८० / Friday, 09 June 2023

चितवन २ मा दुईजनाकाे उम्मेदवारी फिर्ता



प्रकाशित समय: बिहिवार, ०४ : ४३ बजे चैत्र २३ गते



चितवन २ मा दुईजनाकाे उम्मेदवारी फिर्ता

चितवन । चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । जसअनुसार दुईजना उमेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनअन्तर्गत मनोनयन गराएका उम्मेदवारको अन्तिम नामावली बुधबार प्रकाशित गरेको हो ।चितवन-२ मा २४ जनाको उम्मेदवारी परेकोमा बिहीबार उम्मेदवारी दुईजनाले उम्मेदवारी फिर्ता लिएपछि अब २२ जना उम्मेदवार हुने भएका छन् ।

 

यसअघि साे क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । नागरिकता प्रकरण देखाएर उनको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि सो क्षेत्रमा पुनः उपनिर्वाचन हुन लागेको हो ।यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने, राप्रपाबाट जीवलाल पुरीको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

 

चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनपछि यस क्षेत्रमा ४८० मतदाता थपिएका हुन् ।चितवन–२ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् । भरतपुरका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडा यो क्षेत्रमा पर्छन् ।

 

पालिकाअनुसार हेर्दा कालिकामा ३२ हजार २४१, इच्छाकामनामा १५ हजार ६२० र भरतपुरका १० वटा वडामा ७६ हजार ८३४ मतदाता छन् । उपनिर्वाचनमा ४३ वटा मतदानस्थल र त्यसअन्तर्गत १३८ वटा मतदान केन्द्र बनाइएको छ ।