चितवन, ७ वैशाख।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लामा सुरु भएका ठूला विकास आयोजना सम्पन्न भएसँगै विकासमा क्रान्ति आउने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनले आज कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले काठमाडाँै–चितवन द्रुतमार्ग, शक्तिखोर औद्योगिक क्षेत्र, रङ्गशाला, विमानस्थल विस्तार, नारायणी तटबन्धजस्ता ठूला आयोजना सम्पन्न भएपछि चितवनको विकासमा क्रान्ति आउने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “शक्तिखोरको औद्योगिक क्षेत्र मैले नै प्रस्तावित गरेको हुँ, म अहिले प्रधानमन्त्री भएको बेलामा यसलाई सम्पन्न गर्ने काममा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।” उहाँले औद्योगिक क्षेत्रको काम छिट्टै अघि बढ्ने बताउँदै भन्नुभयो, “चितवन क्षेत्र नं २ मा जीतनारायण श्रेष्ठ निर्वाचित भएर गएपछि यसलाई अघि बढाइने कुरामा उहाँको भूमिकालाई पनि बढाइने छ ।”
अघिल्लो बजेट भाषणमा काठमाडौँबाट चितवन एकदेखि डेढ घन्टाभित्र आउने गरी द्रुतमार्ग निर्माणका लागि प्रक्रिया अघि बढेको भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसलाई सम्पन्न गर्ने कुराले चितवनको सम्पूर्ण विकासमा सम्पूर्ण क्रान्ति आउने छ भन्ने मेरो विश्वास छ ।”
अघिल्लो निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएपछि त्यस क्षेत्रमा विकास निर्माणमा के–के सहयोग गरेँ भन्ने कुरा सबैले देखेको भन्दै उहाँले अगाडि थप्नुभयो, “भरतपुर महानगरपालिका अहिले कहाँबाट कहाँ पुग्यो ? तपाईंहरूले देख्नुभएको छ ।”
यहाँका ठूला विकास निर्माणमा आफ्नो ध्यान पुगेको भन्दै उहाँले भन्नुभयो, “म अर्काे जिल्लाको जनप्रतिनिधि भए पनि प्रधानमन्त्रीको हिसाबले विमानस्थल विस्तारको कुरा होस्, गौतमबुद्ध क्रिकेट रङ्गशालाको कुरा होस्, चाहे शक्तिखोर औद्योगिक क्षेत्रलाई अघि बढाउने कुरा होस्, चाहे नारायणी र राप्तीमा तटबन्धन निर्माण अगाडि बढाउने कुरा सबैमा मेरो ध्यान पुगेको छ ।”
सुकुम्बासी समस्या समाधान हुने प्रक्रिया सुरु भइसकेको भन्दै उहाँले भन्नुभयो, “यसलाई गति दिइन्छ र पूर्णतामा पु¥याइन्छ ।” चितवनमा कृषिमा आधुनिकीकरण गर्न पर्याप्त आधार रहेको भन्दै प्रधानमन्त्री दाहालले त्यसमा पनि आफ्नो ध्यान गएको बताउनुभयो ।
पछिल्लो समय देखिएका नयाँ दलहरूप्रति इङ्गित गर्दै उहाँले भन्नुभयो, “खहरे बढोे उर्लेर आउँछ, सुक्छ र केही दिनपछि कमिला हिँड्ने बन्छ ।” पुराना राजनीतिक दलहरूलाई सङ्केत गर्दै र ती दलहरूलाई नारायणी नदीसँग तुलना गर्र्दै भन्नुभयो, “नारायणी त्यस्तो हुँदैन, आफ्नो गतिमा बगिरहन्छ र महासागरमा पुग्छ ।”
नेपाली कांग्रेस र गठबन्धन दल भनेका निश्चित विचार, सिद्धान्त, मूल्य, मान्यता र इतिहास बोकेका विशाल नदीजस्ता पार्टी भएको भन्दै उहाँले खहरेसँग तर्सनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आँधी, बतास, हुरीजस्ता थुप्रै सहेर त्यसका विरुद्ध सतिसालझैँ उभिएर इतिहास बनाएका पार्टी हौँ, हामी कुनै आँधीहुरीसँग डराउनुपर्ने आवश्यकता छैन ।”
लोकतन्त्र, गणतन्त्र, संविधानका निम्ति एउटा मौलिक पहिचान जिल्ला चितवन भएको भन्दै उहाँले यो जिल्लाको अलग्गै पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कुनै पनि हालतमा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न दिनु हुँदैन ।”
आफू यस जिल्लामा पाँच वर्ष सांसद हुँदा यस क्षेत्रको उम्मेदवार जीतनारायण श्रेष्ठलाई नजिकबाट चिनेको भन्दै उहाँले उपनिर्वाचन हुने भएपछि पहिलो दिनदेखि नै यस क्षेत्रको उम्मेदवार श्रेष्ठ नै उपयुक्त हुन्छ भन्ने आफ्नो धारणा रहेको बताउनुभयो । श्रेष्ठको गतिशीलता र आफ्नो कुरा प्रष्टसँग राख्न सक्ने क्षमता रहेको भन्दै यस्ता व्यक्तिले राष्ट्र र समाजका लागि केही गर्न सक्ने बताउनुभयो ।
सभामा ठट्टा गर्दै उहाँले यही गठबन्धनबाट निर्वाचित भएर अर्काे गठबन्धनबाट प्रधानमन्त्री भएपछि आफू र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैलाई रातमा निद्रा नलागेको बताउनुभयो ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ